मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’ मनाउँदै, आज सार्वजनिक बिदा

काठमाडौँ । अरबी पात्रो हिजरी संवत अनुसार दशौँ महिनाको पहिलो दिन बुधबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् ।

विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने नेपाली जामे मस्जिदले जनाएको छ । यो पर्वको अर्को उल्लेखनीय पक्ष गरिबलाई दान दिनु हो ।

पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’ मा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए । यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ जसलाई जकात भनिन्छ ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । सो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । सो दान पनि गरिबलाई नै दिइन्छ । मुसलमान समुदायको एक महिना लामो व्रत (रोजा) सकिएपछि यो वर्ष मनाउने गर्छन् । एक वर्षभित्र गरिएका पाप कटाउन रोजा गरिने उनले बताए ।

एक महिनासम्म दिनभर व्रत गरेर साँझ त्राविको पूजा गरिएको थियो । पर्वका अवसरमा मुसलमान समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् । नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’का अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदकाे १० जेठमा बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णय भएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले मुस्लिम आयोगको पहलमा विभिन्न संस्थाको सोमबार बसेको बैठकले सरकारसँग बुधबार सार्वजनिक बिदाको माग गरेको थियो । आयोगको सुझावलाई ध्यान दिँदै गृहमन्त्रालयले बिदा दिने निर्णय गरेको हो । 


प्रतिकृया दिनुहोस