बृद्धाश्रममा आश्रित बृद्धाहरुलाई धनकुटा काठमाडौं सम्पर्क समाजद्वारा सम्मान

धनकुटा । मूलघाटस्थित विश्रान्ती मन्दिरमा आश्रित बृद्धाहरुलाई एक कार्यक्रमकावीच सम्मान गरिएको छ । धनकुटा स्थायी घर भई हाल काठमाडौमा रहेका धनकुटेलीहरुको संस्था धनकुटा काठमाडौं सम्पर्क समाजको आयोजनामा उनीहरुलाई प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य माननीय राजेन्द्र राई, विशिष्ठ अतिथि पूर्वमन्त्री सुनिलबहादुर थापा, पूर्वसांसद मनोहरनारायण श्रेष्ठ, धनकुटा ९ का वडाध्यक्ष मनोज रायमाझी सन्दिप, पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, संस्थाका अध्यक्ष्य चन्द्रबहाुदर बस्नेत लगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए । समाजले सम्मान पछि बृद्धाहरुलाई मिष्ठान भोजनसमेत खुवाएका थिए ।

सम्मान गर्दै प्रमुख अतिथि सांसद राईले वर्तमान सरकारले हरेक प्रदेशमा एक एक वटा सुविधा सम्पन्न बृद्धाश्रम बनाउने कार्यक्रम रहेको जानकारी दिए । उनले प्रदेश १ को आश्रम विश्रान्ती मन्दिरमा नै स्तरोन्नती गर्ने गरी तयारी भैरहेकोसमेत जानकारी दिए ।

सांसद राईले भरसक कोहि पनि बृद्धाश्रममा बस्न नपरोस् तर बस्नै परे सुविधासहित बस्ने गरी बस्ने व्यवस्था हुनुपर्ने बताए । यसका लागि केन्द्रिय, प्रदेश र स्थानीय सरकारले कार्ययोजना बनाएर व्यवस्था गर्नु पर्ने बताए ।

यस्तै पूर्वमन्त्रीथापाले यो आश्रम निर्माण गर्न प्रमुख भूमिका निर्वाह गरेका स्व. रामनारायण श्रेष्ठको स्मरण गर्दै आफ्ना पिता स्व. सूर्यबहादुर थापाले पनि सहयोग गरेको स्मरण गराए । उनले आफले पनि आश्रमका लागि मन्त्री हुदाँ होस् वा नहदाँ जहिले पनि सहयोग गर्न तयार रहेको आश्वासन दिए ।

सो अवसरमा पूर्व सांसद श्रेष्ठले आश्रम निर्माणमा आफ्ना पितापुर्खाले गरेको प्रयासको स्मरण गर्दै यसको व्यवस्थाका लागि अहोरात्र खटिरहने समाजसेवी जनार्दन गोठालेलगायतको प्रशंसा गरे । उनले रु १ देखि १ करोड रकम जम्मा गर्ने गोठालेको योजना अन्य क्षेत्रमा पनि लागू गर्नु पर्ने बताए ।

यस्तै वडाध्यक्ष रायमाझीले बृद्धाश्रममा आउने सडक बा¥है महिना चल्न सक्ने गरी पिच गर्न आफुले पहल गरेको जानकारी दिए । उनले यो बृद्धाश्रमको विकासका लागि सदा तत्पर रहने जानकारी दिए ।

सो अवसरमा बृद्धाश्रमका महासचिव जनार्दन गोठालेले बृद्धाश्रमको गतिविधिका वारेमा जानकारी गराएका थिए ।सम्पर्क समाजका अध्यक्ष चन्द्रबहादुर बस्नेत 

(प्रेम) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष बस्नेतले प्रमुख अतिथि, विशिष्ठ अतिथिहरु र अतिथिहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

 सचिवकुमार थापाले समाजले गरेका सामाजिक कार्यहरुका वारेमा जानकारी गराएका थिए । सो कार्यक्रममा उपाध्यक्ष लिलीमाया दाहाल, सहकोषाध्यक्ष सिता थापा, सदस्य पूर्ण गिरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराईलीले गरेका थिए ।


प्रतिकृया दिनुहोस