दोहोरो करले थिलथिलो बन्दैछ नगरकोट मण्डदनदेउपुर

पर्यटक नुहुँदा सुनसान बन्दैछ नगरकोट

काभ्रेपलाञ्चोक । विश्वव्यापी रुपमा नगरपालिका हुन सम्बन्धित नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य केन्द्र, विद्यालय, खानेपानी, पक्की सडक लगायतको व्यवस्था पहिले नै भइसकेको हुनुपर्छ । तर नेपालका धेरै नगरपालिका मापदण्ड बिना नै सञ्चालनमा आएका छन् । त्यसैभित्र पर्छ नगरकोट मण्डनदेउपुर नगरपालिका पनि । 

काभ्रेपलाञ्चोकको नगरकोट मण्डनदेउपुर नगरपालिकाको स्थापना कालमा पक्की सडक त परै जाओस्, नगरपालिकाका सबै वडा जोड्ने मोटरबाटो समेत सञ्चालनमा आउन सकेको थिएन । 

जिल्लाको सबैभन्दा विकट नगरपालिकाका रुपमा परिचित यो नगरपालिकाले पर्यटनमा पर्याप्त सम्भाव्यता बोकेको नगरपालिका पनि हो । नेपालकै पर्यटकीय क्षेत्रका रुपमा चिनिँदै आएको नगरकोटको केही सीमाना यही नगरपालिकामा पर्छ । तर नगरले सोचेअनुरुप पर्यटकलाई आकर्षण गर्न कार्यक्रम सञ्चालनमा ल्याउन सकेको छैन । 

यसको मुख्य कारण हो अत्याधिक कर र यससँग पटकपटक आइरहने विवाद । नगरकोटमा घुम्न जाने पर्यटकका लागि मण्डनदेउपुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाले दोहोरो कर लिँदा पर्यटकहरु मारमा परेपछि सो विषयले विवाद सिर्जना गरेको थियो । 

एउटा नगरपालिकाले मात्र कर उठाउने विषयमा दुवै नगरपालिकाबीच निर्णय भएपछि २०७५ सालदेखि मण्डनदेउपुर नगरपालिकाले मात्र कर उठाउने व्यवस्था गरिएको थियो । २०७४ सालमा भक्तपुरको चाँगुनारायण नगरपालिकाले सार्क राष्ट्रका विदेशी पर्यटकलाई भ्याटसहित २ सय २३ र सार्क बाहेकका राष्ट्रका लागि ३ सय ३९ रुपैँया निर्धारण गरेको थियो । 

पहिले चाँगुनारायणले मात्र नगरकोटमा आउने पर्यटकको कर उठाएपछि मण्डनदेउपुरले पनि कर उठाउन सुरु गरेको थियो । दोहोरो रुपमा करको भार बढेपछि त्यसको असर त्यहाँ आउने पर्यटकको संख्यामा परेको छ । जसको विभिन्न सरोकारवाला निकायले विरोध जनाउँदै आएका छन् । 

नगरकोटमा विदेशी पर्यटक मात्र होइन, आन्तरिक पर्यटकको समेत उत्तिकै भीड लाग्ने गर्छ । तर कति पर्यटकले नगरकोटको भ्रमण गर्छन्, त्यसको तथ्यांक नगरपालिकासँग नै छैन । 

नगरकोटका पर्यटकको कर उठाउने जिम्मेवारी पाएको मण्डनदेउपुर नगरपालिकाले २०७५ सालबाट मात्र कर उठाउन सुरु गरेकाले अहिले नै पर्यटकको तथ्यांक आई नपुगेको नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइवा बताउँछन् ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव धनबहादुर लामाले नगरकोट जाने मुख्य सडकका रुपमा रहेको कमलविनायक नगरकोट सडकको अवस्था निकै कष्टकर रहेको बताउँदै दोहोरो पर्यटन शुल्कले पर्यटन व्यवसायीलाई मार पार्ने बताए ।

यहाँका व्यवसायीले राज्यलाई कर तिरेपछि सुविधा नपाएको गुनासो गर्दै उनले नगरकोटमा फोहर व्यवस्थापन समेत चुनौती बन्दै गएको अवस्थामा सूर्योदय, सूर्याअस्त र हिमाल हेर्न मात्र आउने पर्यटकको बसाई लम्ब्याउने र विकास गर्ने मामिलामा दुवै नगरपालिका मौन रहेको बताए ।  

किन दर्ता हुन मान्दैनन होटलहरु ?

मण्डनदेउपुर नगरपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न होटलहरु नगरपालिकामा दर्ता हुन पटक–पटक आग्रह गर्दै आएको छ । तर हालसम्म एउटा पनि होटल नगरमा दर्ता नभएको नगरप्रमुख वाइवाले जानकारी दिए ।

‘करको दायरामा होटलहरु नआउँदा नगरले सोचेअनुरुप प्रगति गर्न सकेको छैन’, उनले भने, ‘नगरले एकतर्फी चाहेर मात्र पर्यटनमा विकास नहुने रहेछ । त्यसका लागि व्यवसायी र स्थानीयको साथ चाहिन्छ ।’

नगरभित्रै छैन पक्की सडक

जेठ मसान्तभित्र नगरपालिकाले नौ किलोमिटर सडक पीच गर्ने भएको छ । तर अहिलेसम्म नगरभित्र पक्की सडक नै छैन । 

नगरपालिकाले हाल नगरकोटदेखि नयाँगाउँ हुँदै ढाइटरसम्मको सडक एडिबीको सहयोगमा स्तरोन्नति गर्न लागेको छ भने नगरकै बजेटमा कुन्तादेखि पाँचखालको जिरोकिलोसम्मको सिमानामा सडकको स्तरोन्नतिको काम सुरु गर्न लागेको छ । सडकको स्तरोन्नति भइसकेपछि कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनमा क्रमिक रुपमा सुधार हुने आशा नगरप्रमुख वाइवाको छ । 

यस्तो छ नगरको प्राथमिकता 

नगरपालिकाले २५ लाख रकम शिक्षाका लागि यो वर्ष मात्र खर्चेको छ । सरकारी विद्यालयहरुको स्तर खस्किरहेको अवस्थामा नगरले नगरभित्र रहेका १६ विद्यालयलाई गाभेर ९ वटामा झारेको छ । 

कुनै विद्यालयमा विद्यार्थीको संख्या धेरै भए पनि शिक्षकको संख्या न्यून रहेको विद्यालय र विद्यार्थी संख्या कम भएको विद्यालयमा शिक्षकको संख्या धेरै भएकाले समायोजनमार्फत दरबन्दी मिलाइएको नगर प्रमुख वाइवाले जानकारी दिए । 

आगामी आर्थिक वर्षमा नगरपालिकाले शिक्षामा बढी लगानी गर्दै लैजाने योजना बनाएको छ । नगरले शिक्षासँगै दोस्रो नम्बरमा स्वास्थ्यलाई प्राथमिकताको विषयमा राखेको छ । 

पहिले साधारण स्वास्थोपचारका लागि बनेपासम्म धाउनुपर्ने बाध्यतालाई चिर्दै हाल नगरका १२ वटा वडामध्ये सात वडामा स्वास्थ्यचौकीको स्थापना गरेको छ भने वडा नम्बर ८ मा सामुदायिक क्लिनिकसमेत सञ्चालनमा ल्याएको छ । नगरपालिकाले आफ्नै नगरभित्र १५ शैयाको अस्पतालको निर्माणका लागि आह्वान गर्दै आएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...