सुष्मा महराको रोदन : यो मेरो अन्तिम पत्रकार सम्मेलन पनि हुनसक्छ

करोडौंको घोटाला हुँदा पनि सरकार बेखवर रहेको आरोप

काठमाडौं । द काठमाडौं मल व्यापार संघले मलमा करोडौंको घोटाला भएको कुरा प्रमाणसहित बाहिर ल्याउँदा पनि सरकारले अहिलेसम्म छानबिन गरि घोटालामा संलग्नहरुलाई कारबाही नगरेकोमा गुनासो पोखेको छ । 

संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि यस्तो गुनासो पोखेको हो । संघकी अध्यक्ष सुष्मा महराले मलमा भएको करोडौंको आर्थिक घोटालाबारे आफूहरुले सुरुवातदेखि नै आवाज उठाएको तर सम्बन्धित सरोकारवाला निकायहरुले अहिलेसम्म यस बारेमा कुनै कारबाही नगरेकोमा आक्रोश पोखिन् ।  

महराले आफूहरुले मलमा भएको ज्यादती र घोटालाबारे बोल्दा उल्टै घोटालामा संलग्न व्यक्तिहरुले गुण्डा लगाएर भौतिक आक्रमणसमेत गरेको सुनाईन् । उनले भनिन्, ‘ममाथि ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमण नै भयो ।’

तर, अहिलेसम्म यसबारेमा सरकारले केही कदम चालेन् । म कहाँ–कहाँ जान्छु ? भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ, उनीहरु मेरो पिछा गरेर हिँडिरहेका छन् । अहिले पनि मेरो ज्यानमाथि असुरक्षा छ ।’ उनले आफूसँग सहकार्य गरेर हिँडिरहेका पीडित व्यापारी साथीहरुलाई पनि गुण्डाहरुले दुःख दिने काम गरिरहेको जानकारी दिईन् । उनका अनुसार दर्जनौं साथीहरु अहिले पनि पीडामा छन् ।

उनले भनिन्, ‘नयाँ व्यवसायी साथीहरुलाई आफ्नो साथमा लिएर मलमा घोटाला गर्ने गुण्डाहरु हिँडिरहेका छन् ।’ महराले मलमा देखिएको घोटालाबारे सञ्चय कोष बेखवरजस्तै बनेको पनि आरोप लगाईन् । 

उनले अघि थपिन्, ‘अब जतिसक्दो चाँडो सञ्चय कोषले नयाँ वैज्ञानिक भाडादर कायम गरेर एग्रिमेन्ट गरिदिनुपर्छ । हामीले कम्तिमा पनि तीनदेखि पाँच वर्षसम्मको लागि सम्झौता कायम गर्नुपर्ने माग गर्दै आएका छौं ।’ नयाँ टेण्डर खोल्दा पनि वैज्ञानिक भाडादर कायम गरिनुपर्ने उनको माग छ । 

आफूले सुरुवातदेखि नै घोटालाबारे बोल्दै आएको सुनाउँदै उनले आफूलाई ती घोटालामा संलग्न व्यक्तिहरुले एक दिने ज्यान मार्नेसम्मको खुलासा गरिन् । उनले भनिन्, ‘मैले बोले पनि नबोले पनि मलाई ती गुण्डाहरुले मारिहाल्छन् । तर, म नबोलेर मर्नुभन्दा पनि बोलेर मर्न चाहन्छु । सायद आजको पत्रकार सम्मेलन मेरो अन्तिम पत्रकार सम्मेलनपनि हुनसक्छ ।’

कार्यक्रममा संघका सल्लाहकार उज्वलजंग शाहले पनि मलमा भएको विसंगतिका बारेमा बोल्दा उल्टै आफूहरुलाई भौतिक रुपमै आक्रमण भएकोमा दुःखेसो पोखे । आफूहरुले घोटालाबारे प्रमाणसहित सत्य कुरा बाहिर ल्याउँदा पनि सरोकारवाला निकायले कुनै चासो नदेखाएको पनि उनले गम्भिर आरोप लगाए । 

उनले आफूहरुमाथि भौतिक आक्रमण भएको आज महिना दिन बित्न लाग्दापनि अहिलेसम्म सरकारले आक्रमणमा संलग्न व्यक्तिहरुलाई कुनै कारबाही नगरेकोमा आपत्ति जनाए । उनले भने, ‘हामीमाथि आक्रमण गर्नेहरु अहिलेपनि खुलेआम हिँडिरहेका छन् । तीनीहरुले अहिले पनि हामीलाई फोनबाट ज्यान मार्ने धम्की दिईरहेका छन् । हाम्रो ज्यान असुरक्षित छ ।’

आफूहरुले आक्रमणलगत्तै किटानी जाहेरीको लागि प्रहरी प्रशासन धाउँदासमेत कुनै सुनुवाई र सहयोग नभएको पनि उनले दुःखेसो पोखे । उनले भने, ‘अहिले कानूनी राज्यको उपहास भएको छ । हामीमाथि आक्रमण गर्नेहरुको नाम नै किटान गरेर उजुरी दिन जाँदासमेत प्रहरी प्रशासनले किटानी लिएन ।’

मलमा घोटाला गर्नेहरुले राजनीतिक पहुँचको आधारमा आफूहरुजस्तो व्यवसायीहरुलाई धम्क्याउने काम गरेको उनको भनाई छ । उनले भने, ‘हामीमाथि दिन प्रतिदिन भौतिक आक्रमण भैरहेको छ । तर, प्रहरी प्रशासनले भने कारबाही गर्नुको साटो कानमा तेल हालेर बसेको छ ।’

कार्यक्रममा मलमा व्यवसाय गर्दै आएकी अजिता सिटौलाले आफूहरुले मलमा भएको अनियमितताको बारेमा बोल्दा उल्टै धम्की खाईरहेको सुनाईन् । उनले सरकारले मलमा भएको आर्थिक घोटालाबारे यथाशिघ्र छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने र मलमा व्यवसाय गर्नेहरुलाई आगामी दिनमा पनि व्यवसायलाई निरन्तरता दिने वातावरण सिर्जना गर्नुपर्ने माग गरिन् । 

कार्यक्रममा मलमा व्यवसाय गर्दै आएकी संघकी सदस्य अनिता बुढाथोकीले पनि मलमा भएको घोटालाबारे बोल्दा उल्टै ज्यान मार्न खोज्नु कानुनी राज्यको धज्जी उडाउने काम भएको टिप्पणी गरिन् । उनले भनिन्, ‘व्यापार व्यवसाय गरिसकेपछि हिसबकिताब सबै क्लियर हुनुपर्छ । हिसाब माग्नेले मागेपछि अरुले दिनुपर्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...