केशव भट्टराई भन्छन्, म प्रचारभन्दा काम गरेर देखाउन चाहन्छु

नेपाली चलचित्रको नियमन र नेपाली भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बनेको चलचित्र बोर्डले विगत लामो समयदेखि प्रभावकारी रुपमा काम गर्न सकिरहेको छैन । वैशाख ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले बोर्डको अध्यक्षमा बोर्डमा केशव भट्टराईलाई नियुक्त गरेको छ । भट्टराई नेपाली सिने जगतमा आसलाग्दा अध्यक्ष पनि हुन् । उनले लामो समयदेखि चलचित्र क्षेत्रमै बिताएका छन् । यसअर्थमा पनि चलचित्रकर्मीहरुले उनीसँग धेरै आस गरेका छन् । अबको बोर्डको नयाँ दिशा के हुनेछ त ? के साच्चे उनले आम चलचित्रकर्मीहरुको अपेक्षा पूरा गर्न सक्लान् त ? प्रस्तुत छ, यसै सेरोफेरोमा केन्द्रित रहेर निशान न्यूजकी मीना घोरसाइनेले अध्यक्ष भट्टराईसँग गरेको कुराकानी ।

लामो समयदेखि नै चलचित्र विकास बोर्डमा सोचेजस्तो काम गर्न नसकेको आरोप लाग्दै आएको छ । अहिले तपाईं बोर्डमा अध्यक्ष नियु्क्त भएर आएपछि के कस्ता प्रगति भइरहेका छन् त ?

चलचित्र विकास बोर्डले लामो समयदेखि गतिशीलता लिन सकेको छैन भन्ने कुरा यो सबैलाई थाहा भएकै कुरा हो । मुख्य कुरा हामीले अहिले नयाँ कामहरु गर्नुभन्दा पनि पुरानै गर्ने कामलाई निरन्तरता दिनु आवश्यक ठानेका छौं । लामो समयदेखि विभिन्न पदमा बसेर नियाल्दा बोर्डमा केही पनि काम हुन सकेको छैन । प्रभावकारी रुपमा काम हुनुपर्छ भनेर हामीले पनि पहल गर्दै आएका थियौं । त्यसलाई कार्यान्वयन गर्ने तहमा अहिले म आइपुगेको छु । केही काम सरकारकै नीति तथा कार्यक्रममा छन् भने केही कार्ययोजना मेरो पनि छ । त्यसैलाई अघि बढाएर त्यसलाई कसरी अगाडि बढाउने भन्ने काममा अहिले अघि बढिरहेको छु । 

अहिलेको तपाईंले प्रमुख एजेण्डा केलाई बनाइराख्नुभएको छ ? 

अहिलेको प्रमुख एजेण्डा भनेको सम्पूर्ण चलचित्र हलहरुमा बक्स अफिसको स्थापना गर्नु हो । बक्स अफिस जडान नभएकै कारण नेपाली चलचित्रले देशभित्र कति व्यापार गरे भन्ने आधाकारिक तथ्यांक हामीले पाउन सकेका छैनांै । जसलाई मध्यनजर गर्दै बोर्डले यही यही वैशाख १ गतेदेखि सफ्टवेयर जडानको काम सुरु गरिसकेको छ । काठमाडौँ उपत्यकामा सफ्टवेयर जडान गरिसकेपछि उपत्यका बाहिरका हलहरुमा पनि जडानको काम सुरु गर्नेछौं । यही असार मसान्तभित्रै बोर्डले सफ्टवेयर जडानको काम सकिसक्नेछ भने अर्काे आर्थिक वर्षभित्रै देशभर बक्सअफिस सञ्चालनमा आउनेछन् । 

नेपाली चलचित्रले उपत्यकाभित्र बाहेक बाहिर चलचित्र उद्योग फस्टाउन सकेको छैन । अहिले हामीसँग सुविधासम्पन्न स्टुडियो अत्यावश्यक छ । त्यसका लागि हामीले विभिन्न स्थानीय निकायसँग स्टुडियो निर्माणका लागि जग्गाको माग गरिरहेका छौं । सकेसम्म उपत्यकाभित्र नभए उपत्यकाको वरिपरि अबको केही समयपछि स्टुडियो निर्माणको काम सुरु गर्नेछौं । चलचित्रको संग्राहलय निर्माण गर्ने लक्ष्यसमेत लिएका छौँ । पुराना चलचित्रको नेगेटिभसमेत नभेटिने अवस्था छ । शाही नेपाली रेकर्डिङले तयार पारेका चलचित्र तथा डकुमेन्ट्री लगायत भारतमा बनेका चलचित्रको डुब्लिकेट संकलनको काम पनि बोर्डले सुरु गरिसकेको छ ।

बोर्डको अध्यक्षमा नियुक्त भएको यत्तिका समय भइसक्यो । अहिलेसम्म कुनै मिडियामा पनि देखिनुभएको छैन । किन हो ? 

चर्चामा आउनु मात्र ठूलो कुरा होइन । यहाँ काम नै नगरी चर्चामा आउने धेरै व्यक्ति छन् । तर म चर्चाभन्दा पनि काममा विश्वास राख्छु । जुन दिन आफूले प्रतिवद्धता जनाएको काम पूरा गर्न सक्छु, त्यही दिन मिडियामा आउनेछु । 

अब नयाँ चलचित्र ऐन आउने कुरा पनि चलिरहेको छ । किन चाहियो नयाँ ऐन ? 

अहिले पुरानै चलचित्रको कार्यविधिमा चलिरहेका छौँ । जसले गर्दा चलचित्र क्षेत्रमा सोचेजस्तो प्रगति हुन सकेको छैन । हामीले कस्तो कार्यविधि आवश्यक छ भनेर मन्त्रालयमा लेखेर पठाइसकेका छौँ । अबको केही समयपछि नै हामीले चलचित्रको नयाँ कार्यविधि पाउनेछौँ । यो हाम्रा लागि सबैभन्दा ठूलो उपलब्धि हो । केही कार्यविधि सुचना तथा सञ्चार प्रविधि मन्त्रालयमा पठाइसकेका छौँ, केही पठाउने तयारीमा छौँ । नेपाली चलचित्र उद्योगलाई विकास गर्ने कुरा राष्ट्रपतिको सम्बोधनमा पनि परेको छ । प्रधानमन्त्रीले समेत नेपाली चलचित्रलाई निकै चासोका रुपमा लिइरहनुभएको छ । जसका कारण यो नेतृत्वमा नेपाली चलचित्रले धेरै नै फड्को मार्छ भन्ने विश्वास हामीले लिएका छौँ । नेपाललाई सुटिङ क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य पनि लिइएको छ । त्यस्तै विदेशी चलचित्रलाई एकद्वार प्रणालीमार्फत स्वीकृति दिने तयारी पनि भइरहेको छ । 

दोलखामा ‘फिल्म सिटी’ बनाइने भनिएको थियो । काम कुन चरणमा पुग्यो ?

यो चलचित्र विकास बोर्डले भन्दा पनि सरकारको नीति तथा कार्यक्रम अन्तर्गतको योजना हो । यसका लागि यो आर्थिक वर्षमा १ करोड बजेट विनियोजन भएको थियो । अबको केही दिन भित्रमा नै यसको अन्तिम नक्सा आइपुग्छ । नक्सा आइसकेपछि मात्र यसको निर्माणको काम सुरु गरिन्छ । यो अर्बाैको योजना भएकाले यही समयभित्र नै निर्माणको काम पूरा हुन्छ भन्न सकिँदैन । जति समय मेरो कार्यकाल रहन्छ, यसलाई निरन्तरता दिँदै जानेछु ।

चलचित्र क्षेत्रमा धेरै नै बेथिति छ, अब बोर्डले कसरी यसलाई चिर्दै जान्छ ?

चलचित्र क्षेत्रको बेथितिलाई चिर्न चलचित्रसँग सम्बन्धित व्यक्तिलाई राखेर बैठक बस्ने तयारी गरिरहेका छौँ । त्यसपछि बेथितिलाई कसरी चिर्ने त्यही अनुसार अगाडि बढ्छौँ । मेरो नेतृत्वमा केही हदसम्म बेथितिको अन्त्य हुन्छ । 

पर्यटन वर्ष २०२० का लागि बोर्डले के लक्ष्य राखेको छ ? 

२०२० लाई बोर्डले चलचित्र वर्षका रुपमा लिएको छ । ‘फिल्म टुरिजम’ पनि हाम्रो सो वर्षको प्रमुख लक्ष्य हो ।


प्रतिकृया दिनुहोस