बाख्राको मासु खाँदा डोटीमा १५ जना बिरामी

गाउँले बिरामी परेपछि अनुसन्धान सुरु

डोटी । बाख्राको मासु खाँदा डोटीको भेलगडाका १५ जना बिरामी परेका छन् । विरामी हुनेका २ वर्षदेखि ४० वर्ष उमेरसम्मका छन् । 

डोटीको आदर्श गाउँपालिका –१ भेलगडामा शनिबार बाख्राको मासु खाँदा २ वर्षदेखि ४० वर्ष उमेरसम्मका मानिसहरु बिरामी परेका हुन् । बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ जनाको दिपायलको शैलेश्वरी अस्पताल र बाँकी ३ जनाको स्थानीय मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

इलाका प्रहरी कार्यालयका अनुसार बाख्राको मासु खाएर गम्भीर बिरामी पर्नेहरुमा आर्दश गाउँपालिका १ की ९ वर्षीया सरस्वती खड्का, २९ वर्षीय प्रेम खड्का, ३८ वर्षीय पदम खड्का, २६ वर्षीय नारायण खड्का, १३ वर्षीया पार्वती खड्का, ११ वर्षीया कल्पना खड्का, २७ वर्षीया ईस्सरादेवी खड्का र ३ वर्षीया उर्मिला खड्का छन् । 

२ वर्षीया एलिसा खड्का, ८ वर्षीय रोशन खड्का, ४० वर्षीया शान्तिदेवी खड्का, ७ वर्षीय रोहन खड्का, ३२ वर्षीया मानी खड्का, १३ वर्षीय नारद खड्का र १२ वर्षीया अनिशा खड्का पनि विरामी भएका छन् । बाख्राको मासु नपकाई खाएका कारण उनीहरु बिरामी परेको हुन सक्ने स्थानीयले बताएका छन् । 

शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक तथा निर्देशक आईजंङ्ग कुँवरका अनुसार मासु खाएर बिरामी परेकाहरुमध्ये केहीको अवस्था गम्भीर रहेको र केहीको क्रमिक रुपमा सुधार भइरहेको छ । ‘स्थानीयले खाएको बाख्राको मासुमा केही न केही रोग हुनुपर्छ’ उनले भने, ‘अहिले केहीको अवस्था सुधार भएको छ भने साना केटाकेटीलाई भने अहिले पनि समस्या नै छ ।’ 

बाख्राको मासु खाँदा गाउँले बिरामी परेकोबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । 


प्रतिकृया दिनुहोस