सवारी चालकको पैसा राष्ट्रिय सभा अध्यक्षकै खल्तीमा !

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधि सभाका सभामुखले ऐन विपरित दोहोरो सुविधा लिइरहेको खुलेको छ । यतिसम्मकी राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् ।

सभामुख कृष्णबहादुर महराले निजी चालक राखेका छन् । आवश्यक पर्दा सचिवालयका चालकले पनि चलाउने गरेका छन् ।  राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने दुई सवारी चालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । 

‘अध्यक्षको गाडी अधिकांश समय संसद् सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन् । अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ । तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम जम्मा हुने गरेको छ । 

पुसदेखि चैतसम्मको उनीहरूको पारिश्रमिक पनि उहाँकै खातामा जम्मा भएको छ । तिमिल्सिनाले प्रतिचालक मासिक १८ हजार तीन सय ४० र प्रति कार्यालय सहयोगी १६ हजार दुई सय ३० रुपैयाँका दरलेचार जनाको कुल तलब मासिक ६९ हजार एक सय ४० रुपैयाँ बुझ्दै आएका छन् । 

तर, संसद् सचिवालयले गत पुसदेखि सांसद तथा पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीको तलब सम्बन्धितकै खातामा जम्मा गर्ने व्यवस्था गरेको थियो । ऐनअनुसार संघीय संसद्का सभामुख र अध्यक्षको स्वकीय सचिवालयमा सात कर्मचारीको सुविधा हुन्छ । अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला, स्वकीय सचिवद्वय मनबहादुर क्षेत्री र कृष्णमणि बराल तथा कम्प्युटर अधिकृत उदय तिमिल्सिनाको व्यक्तिगत बैंक खाता नम्बर सचिवालयलाई प्राप्त छ । 

सभामुख कृष्णबहादुर महराले निजी चालक राखेका छन् । सभामुखले आफ्नै निजी सवारीचालक राखेका छन् । वेलावेला सचिवालयका रामनारायण महर्जन, रमेश भट्ट र सानुकाजी महर्जनले पनि चलाइरहेका हुन्छन् । तर, सभामुख महराले भने निजी सवारीचालकको मासिक तलब उनीहरूकै खातामा जाने व्यवस्था गरेका छन् । 

प्रतिकृया दिनुहोस