हुम्लाको ताँजाकोटमा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुग्यो

शिविर संचालन लगत्तै बिरामीको उपचार सुरु

सिमकोट । हुम्लाको दक्षिण क्षेत्र ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । अझै २ सय भन्दा बढी विरामी परेका छन् । ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको छ । यो सहित ताँजाकोटमा मर्नेको संख्या १० पुगेको हो ।

सोमबार मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोरा रहेका छन् । चैत्र अन्तिम सातादेखि गाउँमा रोग फैलिएको थियो ।

आइतबार मात्रै प्रभावित क्षेत्रमा प्रदेश सरकारले हेलिकोप्टरबाट औषधिसहित चार जना चिकित्सकको टोली पठाएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट औषधि र चिकित्सक पठाइएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।सामाजिक विकासमन्त्री दल रावलले संघीय सरकारको समन्वयमा प्रभावित क्षेत्रमा चिकित्सकको टोली औषधिसहित पठाइएको जानकारी दिए ।

अज्ञात रोग फैलिएको ताँजाकोटमा बिहानैबाट तीन ठाउँमा शिविर संचालन सुरु भएको छ । सोमबार बिहान शिविर संचालन ताजाँकोट गाउँपालिका वडा नम्बर १ को भैसामाझ, ३ को छप्रेला र चारको गोठेलबाडामा भएको हो । 

शिविरमा बिरामीहरु चेकजाँचका लागि आउने क्रम सुरु भएको स्वास्थ्यकर्मी मोतिलाल जैशीले बताए । प्रत्येक शिविरमा चिकित्सकको उपस्थितीमा चेकजाँच कार्य भइ रहेको उनले बताए । 

आईतबारबाट रोग प्रभावित क्षेत्रमा नेपाल सरकार गृहमन्त्रालय र कर्णाली प्रदेश सरकारको सहयोगमा औषधी, ल्याब र बिशेषज्ञ चिकित्सक सहित आठ जनाको स्वास्थ्यकर्मीको टोली हेलिकोप्टरमा आएको थियो । टोली आए लगत्तै उपचार सुरु भएको थियो ।

अघिल्लो दिन भएको शिविरमा एक सय ३२ जना बिरामीको चेकजाँच गरिएकोमा ७६ महिला तथा ५६ जना पुरुष भएको आरआरडी टिमका सम्पर्क व्यक्ति श्याम आचार्यले बताए । ती मध्ये रुघाकोकीमा ७४ जना, झाडापखालाका ६ जनाको उपचार भएको उनले बताए ।

वडा अनुसार वडा नम्वर १ का ७ जना, वडा नम्वर २ का ४७, वडा नम्वर ३ का ७६ जना, वडा नम्वर ४ का ५ र वडा नम्वर ५ का ६ जनाको उपचार भएको थियो ।


प्रतिकृया दिनुहोस