बढ्यो तराईमा गर्मी, धनगढीमा पुग्यो ४१ दशममलव ५ डिग्री सेल्सियस

काठमाडौं । पहाडमा दैनिक वर्षा भइरहेका बेला तराईका भने केही दिनयता तापक्रम बढेको छ । तापक्रम बढेसँगै तराईको जनजीवन पनि प्रभावित बनेको छ ।

चर्को गर्मीका कारण सर्वसाधरणहरूलाई दैनिक काम काजका साथै हिँडडुल गर्नसमेत कठिनाइ हुन थालेको छ । गर्मीका कारण दैनिक मजदुरी गरेर गुजारा चलाउने वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् । 

अत्यधिक गर्मीका कारण धनगढीको जनजीवन प्रभावित भएको छ । मध्य तथा पूर्वीतराईमा विगत चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ ।वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ । 

वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या उत्पन्न भएको हो । गर्मी छल्न दिउँसो स्थानीय पोखरीहरूमा पौडी खेल्ने केटाकेटी र युवायुवतीको भिड लाग्न थालेको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ ।

शनिबार धनगढीको तापक्रम ४१ दशममलव ५ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो ३ बजे धनगढीको अधिकतम तापक्रम ४०.८ डिग्री सेल्सियस मापन गरिएको थियो । यो वर्ष हालसम्मकै सबैभन्दा बढी तापक्रम रहेको मौसम पूर्वानुमान महाशखाले जनाएको छ ।

नेपालगन्जमा सात वर्ष यताकै सर्वाधिक गर्मी भएको छ । जल तथा मौसम विज्ञानको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका अनुसार शुक्रबार अधिकतम् तापक्रम ४१ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम भने २३ डिग्री सेल्सियस रहेको थियो भने शनिबार पनि सो कायम छ । 

महाशाखाका अनुसार भैरहवा ३८, सिमरामा ३६, दाङमा ३७ डिग्री सेल्सियस छ भने विराटनगरमा ३७ दशमलव २ डिग्री सेल्सियस तापक्रम छ ।

नियमित विद्युत् आपूर्ति नहुँदा बढ्दो गर्मीमा सर्वसाधारण झनै पिरोलिएका छन् । छाला ढाक्ने गरी कपडा लगाउन, घाममा हिँड्दा नियमित अन्तरालमा बसेर शीतल पानीले हातमुख धुनेजस्ता सुझाव चिकित्सकको छ ।

पछिल्लो एक सातादेखि पानी नपर्दा अत्यधिक गर्मी बढेको हो । गर्मी अझै बढ्ने क्रममा रहेकाले सर्वसाधारण छटपटिएका छन् । लु लागेर ज्यानै जान सक्ने सम्भावना पनि रहने हुँदा अत्यधिक गर्मी महसुस भएमा सतर्कता अपनाउन चिकित्सकहरूले सुझएका छन् । 

प्रतिकृया दिनुहोस