बोक्सीको आरोपमा वृद्ध दम्पत्तिमाथि निर्घात कुटपिट

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा बोक्सा बोक्सीको आरोपमा एक वृद्ध दम्पत्तिमाथि निर्घात कुटपिट भएको छ । बोक्सा बोक्सीको आरोपमा ६० वर्षे वृद्ध र बोक्सीको आरोपमा उनकी श्रीमतीमाथि एउटै परिवारका चार सदस्यले निर्घात कुटपिट गरेका छन् ।

लाट्ठी, लात र मुड्कीले निर्घात कुटपिट गर्दा दुबै जना घाइते भएका छन्  । घटनापछि दुबैलाई उपचारका लागि नोबेल अस्पताल बेलबारीमा भर्ना गरिएको थियो । तर, नोबेलमा उपचार सम्भव नभएपछि श्रीमतीलाई विराटनगरको कोसी अस्पताल ल्याएर थप उपचार सुरु गरिएको छ । 

उक्त दम्पत्ति घरमा एक्लै बस्दै आएको छ ।वृद्ध–वृद्धामाथि सुन्दरहरैंचा–११ धाती टोल बस्ने ६३ वर्षे टुनका खवास, ३५ वर्षे श्यामलाल खवास, ३१ वर्षे रामकुमार खवास र ३० वर्षे शशिकला खवासले सामूहिक रुपमा आक्रमण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। 

प्रहरीका अनुसार श्यामलाल र रामकुमार टुनकाका छोरा हुन् । शशिकला टुनकाकी बुहारी र श्यामलालकी श्रीमती हुन् । उनी गाउँ घरमा धामी झाक्रीको काम गर्ने महिला पनि भएको जानकारी प्रहरीले दिएको छ। घटनाका पीडित र पीडकको घर लगभग तीन सय मिटर वरपर रहेको प्रहरीको भनाइ छ। 


प्रतिकृया दिनुहोस