४५ सय रुपैयाँ फिर्ता नगर्दा हत्या

काठमाडौं । सापटी लगेको ४५ सय रुपैयाँ फिर्ता नगर्दा एक जनाको ज्यान नै गएको छ । पैसा नतिरेको झोँकमा खुकुरी प्रहार गरेर सिरहामा एक जनाको हत्या भएको हो । 

प्रहरीले हत्या गरेको आरोपमा सप्तरीको राजविराज नगरपालिका–३ स्थित रंगशालामा बस्ने ५५ वर्षीय ज्ञानबहादुर थापामगरलाई पक्राउ गरेको छ । उनले सिरहाको लहान नगरपालिका(९ गोठटोलका ६९ वर्षीय रतनबहादुर तामाङको हत्या गरेका थिए ।

बैशाख ७ गते दिउँसो पौने ३ बजेतिर लहान–१७ स्थित गोविन्दपुर बलानगढीमा एक पुरुष मृत फेला परेका थिए। उनको गर्धनको आधा भाग काटिएको थियो ।

टेलिफोनमार्फत् उक्त सूचना इलाका प्रहरी कार्यालय लहानमा आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानमा क्रममा थापामगरलाई पक्राउ गरिएको सिरहाका एसपी जीवन श्रेष्ठले बताएका छन् । उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको छ।

प्रतिकृया दिनुहोस