भूकम्प प्रतिरोधी संरचना बनाउन प्रधानमन्त्रीबाट आग्रह

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पदालाई पुरानै स्वरुपमा पुनःनिर्माण गरी संरक्षण गरिनुपर्नेमा जोड  दिएका छन् ।

चौथो भूकम्प स्मृति दिवसका अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौँ महानगरपालिकाले बिहिबार यहाँ संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनले नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएकाले प्रतिरोधी संरचना बनाउनुपर्नेमा जोड दिएका हुन् ।

भूकम्प प्रतिरोधी संरचना पुनःनिर्माणकै लागि आर्थिक र प्राविधिक सहयोग दिइएको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।      

 प्रधानमन्त्री ओलीले भने, यसपछिका भूकम्पले ती संरचनालाई असर नगरोस् भन्ने मुख्य उद्देश्यले अझ बलियो र राम्रो संरचना निर्माणका लागि सरकारले अनुदान दिएको हो, यसको सदुपयोग गरी तोकिएकै समयमा पुनःनिर्माण सम्पन्न हुनुपर्छ, ।

सम्पदाको धनी देश भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा पनि उनले सरोकार भएका निकायलाई सचेत गराएका छन् । प्राधिकरणको बाँकी अवधि २० महीनामै पुनःनिर्माणका काम सक्न प्रधानमन्त्रीले आग्रह पनि गरेका हुन् ।

अनावश्यक र अनुचित विवादमा नअल्झी पुनःनिर्माणको काम गर्न उनले सुझाव दिए । भूकम्प स्मृति दिवसका अवसरमा प्रधानमन्त्री ओलीले वसन्तपुर दरबार क्षेत्रमा पुनःनिर्माण भइरहेका सम्पदाको अवलोकन गरेका हुन् ।

पुनःनिर्माण भइरहेको काष्ठमण्डपको अभिरुचिपूर्वक बाँसको भ¥याङ उक्लेर माथिल्लो तलामा गई निरीक्षण गरेका थिए । भूकम्पअघि महानगरीय प्रहरी परिसर रहेको भवनमा काष्ठमण्डप पुनःनिर्माणका लागि बनिरहेको काठको कार्यशालाका गतिविधि पनि प्रधानमन्त्री ओलीले अवलोकन गरेका हुन् ।

कालभैरव मन्दिरअघि भूकम्पमा परी निधन भएकाहरुको शान्तिका लागि भइरहेको धार्मिक कार्यक्रम सहभागी भई उनले टीका प्रसाद ग्रहण गरे ।     

चौथो स्मृति दिवसका अवसरमा पुनःनिर्माणमा राम्रो काम गर्ने स्थानीय तह, वडा, जिल्ला आयोजना कार्यान्वयन एकाइलाई सम्मान गरिएको थियो । उत्कृष्ट काम गर्ने स्थानीय तहमा रसुवाको नवकुण्ड, गोरखाको बारपाक सुलिकोट र दोलखाको कालिञ्चोक गाउँपालिका छन् ।     

यसैगरी सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–२ तथा रसुवा, गोरखा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोकका जिल्ला आयोजना कार्यान्वयन एकाइलाई पनि प्रधानमन्त्री ओलीले सो अवसरमा सम्मान गरेका थिए । 


प्रतिकृया दिनुहोस