बारा र पर्साका हुरी प्रभावितका १४ सय ५३ घर पुनर्निर्माण गर्न सेनालाई झन्डै ८५ करोड

मन्त्रीपरिषद्‍ बैठकका २२ निर्णय (सूचीसहित)

काठमाडौं  । सरकारले बारा र पर्सामा विनाशकारी हावाहुरीले क्षतिग्रस्त घर पुननिर्माणका लागि नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा यही वैशाख ५ र १० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यो रकम नेपाली सेनामार्फत् खर्च गरिने जानकारी दिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भीषण हावाहुरीबाट क्षतिग्रस्त १४ सय ५३ ओटा घर बनाउन सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका हुन् ।

यसअघि, सरकारले बारा र पर्सामा सो हावाहुरीबाट क्षतिग्रस्त घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सरकारले दिएको रकम र घरधुरी संख्या हिसाब गर्दा एउटा घरवापत सेनाले ५ लाख ८२ हजार ८४७ रुपैयाँ पाएको हो । बारा र पर्सामा गएको चैत १७ गतेको साँझ विनाशकारी हावाहुरीले २८ जनाको मृत्यु भएको थियो ।

मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका उपरथी गौरव तण्डुललाई रथी दर्जामा, प्राविधिक सहायक रथी डा. सुनिलकुमार सिंहलाई प्राविधिक उपरथी दर्जामा र पाँचजना महासेनानीलाई सहायक रथी दर्जामा पदोन्नति पनि गरेको छ ।

यस्तै, नेपालको भन्सार विभाग र जनवादी गणतन्त्र चीनको भन्सार प्रशासनबीच भन्सार सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरिएको छ । नेपाल सरकारलाई चीन सरकारबाट प्राप्त हुने एक अर्ब युआन (करिब रू १६ अर्ब ८० करोड) सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

यस्तै, सिक्टा सिँचाइ आयोजनाको क्षतिग्रस्त खन्डको मर्मत तथा सुधार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । कतारका लागि नेपाली राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई नेपाल फिर्ता बोलाउने निर्णय पनि गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु 



प्रतिकृया दिनुहोस