खुसीको खबर, एकसाताभित्रै लोकसेवा खोल्ने तयारी

काठमाडौं । लामो समयसम्म लोकसेवाको विज्ञापन नखोलिदाँ चिन्तामा रहेका युवाहरुका लागि खुसीको खबर आएको छ । कर्मचारी समायोजनका कारण झण्डै ७ महिनादेखि धकेलिदै आएको लोकसेवा आयोगको नयाँ विज्ञापन यसै साताबाट खुल्ने भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी भर्नाका लागि यसै साता लोकसेवामा माग पठाउने तयारी भइरहेको जनाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले छोटो प्रक्रियाबाट कर्मचारी भर्नाका लागि यसै साता लोक सेवामा माग पठाउने तयारीमा भइरहेको बताएका छन् ।

राजधानीमा आयोजित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको संयुक्त आयोजनामा सञ्चालित सङ्घीय पद्धति सुदृढीकरणमा स्थानीय जनप्रतिनिधि र कर्मचारीको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पण्डितले एकसाताभित्रै लोकसेवामा माग पठाउने बताएका हुन् । 

मन्त्री पण्डितले छोटो प्रक्रियाबाट टुंगिने गरी प्रक्रिया अघि बढाइएको बताएका जनाए । ‘यसै साता लोक सेवालाई कर्मचारी भर्नाका लागि पठाउन लागिएको छ’ मन्त्री पण्डितले भने, ‘प्रादेशिक लोक सेवा नबनुन्जेल सङ्घीय लोकसेवाले छनौटको काम गर्ने संवैधानिक व्यवस्थाअनुसार उक्त प्रक्रिया अघि बढाइएको छ ।’

तीन महिनाभित्रमा फास्ट ट्रयाकमा रिजल्ट दिने गरी लोक सेवा खुलाउने तयारीमा आफू रहेको मन्त्री पण्डितले जानकारी दिए ।


प्रतिकृया दिनुहोस