पुनर्निर्माणको काम सक्न थप ४ खर्ब २९ अर्ब बजेट आवश्यकः सिईओ ज्ञवाली

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाका कार्यहरु सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौति वित्तीय व्यवस्थापन देखिएको जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा पुनर्निर्माण र पुनर्स्थापनाको काम सक्न अझै ४ खर्व २९ अर्ब बजेट आवश्यक रहेको जानकारी गराएका छन् । 

पञ्चवर्षीय योजनामा समग्र लागत ९ खर्ब ३८ अर्ब आँकलन गरिएकोमा आर्थिक वर्ष ०७४–०७५ मा कूल १ खर्ब ८६ अर्ब रकम खर्च भएको छ । यस्तै चालू आर्थिक वर्षमा जम्मा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको सीईओ ज्ञवालीले जानकारी दिए ।  

ज्ञवाली ले भने, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको छ । अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घरपरिवार मध्ये ६ लाख १२ हजार ९३५ घर पुनर्निर्माणको प्रक्रियामा सहभागी रहेको जानकारी दिए । 

५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २७७ परिवारले घर बनाइसकेको र ३० प्रतिशत अर्थात २ लाख ३० हजार ५५८ परिवार निजी आवास पुनर्निर्माणको क्रममा रहेका समेत जानकारी दिए ।

जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित जग्गा उपलब्ध गराउने व्यवस्था समेत मिलाएको भन्दै ज्ञवालीले भूमिहीन, स्ववासीलगायतको समस्या पनि समाधान गर्ने क्रममा रहेको बताएका छन् । 

भूकम्पबाट ७ हजार ५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएको ज्ञवालीले जानकारी दिए । यस्तै स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, पुरातात्विक महत्वको सम्पदातर्फ ५९ प्रतिशत, सुरक्षा निकायका भवनहरु ५६ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ । 



 


प्रतिकृया दिनुहोस