७७ जिल्लाका अध्यक्ष र सचिवको नाम आज सार्वजनिक गरिने, कोको बन्दैछ त ?

काठमाडौं । लामो समयपछि सत्तारूढ दल नेपाल कम्युनिसट पार्टी (नेकपा) ले आज ७७ वटै जिल्ला कमिटीको नाम सार्वजनिक गर्दैछ । आइतबार मात्रै नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको थियो ।

जिल्लाका अध्यक्ष र सचिव नै दुवै पार्टीका जिल्ला अध्यक्ष (प्रमुख) रहने गरी नयाँ मापदण्ड बनाई एकता टुंग्याइएको छ । कपाले ७०औं पार्टी स्थापना दिवसको अवसर पारेर सोमबार राजधानीको प्रज्ञा भवनमा दिउँसो १ वजे विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमबाटै जिल्ला तहको टुंगो लागेका अध्यक्ष र सचिवको नाम सार्वजनिक गर्ने उसको तयारी छ ।

नेकपाले केन्द्रमा पार्टी एकता गरेको भने ११ महिनापछि नेताहरूकै स्वार्थ बाझिँदा जटिल बनेको जिल्ला तहको एकता लामो रस्साकस्सीपछि आइतबार मात्रै निष्कर्षमा पुगेको थियो । आइतबार दिनभरको प्रयासपछि साँझ बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको प्रस्ताव तयार पारी टुंगो लगाएसँगै सोमबार सबै जिल्लाका अध्यक्षसहितको नाम सार्वजनिक गरिँदैछ । 

एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन् । एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ ।

जनप्रतिनिधि अथवा राजकीय पदमा रहेका व्यक्तिलाई यसअघि जिल्लाको कार्यकारी पदको जिम्मेवारी नदिने भनी सचिवालयले नै बनाएको मापदण्ड भने उल्टिएको छ । जनप्रतिनिधि भए पनि नेतृत्व गर्न पाउने गरी नयाँ मापदण्ड बनेको छ ।

जनसंगठनको एकता र केन्द्रीय विभागका विषयमा भने नेकपामा छलफल बाँकी छ । नेकपाका २२ जनवर्गीय संगठन र ३२ केन्द्रीय विभाग छन् । त्यसमध्ये केही जनवर्गीय संगठनको मात्र एकता भएको छ । तर युवा, विद्यार्थी, महिला, मजदुर, किसानलगायतको एकता भएको छैन । 

प्रतिकृया दिनुहोस