बढ्यो नेकपाका नेताहरुको दौडधुप, स्थापनाकै दिन टुंगिएला त एकता प्रक्रिया ?

काठमाडौं । आगामी सोमबार कम्युनिस्ट पार्टी स्थापना दिवस हो । कम्युनिस्ट पार्टी स्थापना दिवस नजिकिँदै गर्दा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुको दौडधुप निक्कै बढेको छ ।

किनकी कम्युनिस्ट पार्टी स्थापना दिवसकै दिन नेकपाले सबै जिल्लामा जिल्ला कमिटीहरुको एकीकरण टुंग्याउने बताएको छ । त्यसका लागि जिल्ला तहमा आ–आफ्ना पक्षमा पार्न तत्कालीन एमालेका नेताहरुको दौडधुप निक्कै बढेको छ ।

पार्टी एकीकरण भएको एक वर्ष पुग्नै लाग्दा पनि नेकपाका जिल्ला कमिटीहरुको एकीकरण टुंगो लगाउन नसक्दा नेकपाभित्र आक्रोस बढिरहेको छ । जिल्ला कमिटीका अध्यक्ष र सचिवका साथै पोलिटव्यूरो र उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरुको नाम टुंगो लगाउन शीर्ष नेताबीच आइतवार पनि छलफल जारी छ ।

एकता टुंगो लगाउन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल एवं महासचिव विष्णु पौडेल लगायतका नेताहरू अहिले सक्रिय छन् ।

सचिवालय सदस्य वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा लगायतका नेताहरूका बीचमा पनि छलफल भइरहेको छ । आजै साँझ बस्ने नेकपा सचिवालय बैठकले जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाउने तयारी छ ।  त्यसअघि दुई अध्यक्षले पदाधिकारीको अन्तिम प्रस्ताव तयार पारेर सचिवालयमा पेश गर्ने सहमति भएको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली, प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव पौडेलबीच भएको छलफल भएको छ । यसअघि शुक्रबार दुवै अध्यक्षको परामर्शपछि महासचिव पौडेलले शनिवार बिहानै बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए ।

पछिल्लो छलफल सकारात्मक रहेको र बीचमा छलछाम नगरिए जिल्ला कमिटीका पदाधिकारी र पोलिटव्यूरो चयनमा ठूलो विवाद रहने देखिएको छ । तथापी पूर्व एमालेभित्रको गुट निक्कै सक्रिय रहेकाले भागबण्डा मिलाउन नेकपाभित्र सकस परेको छ । यद्यपी पूर्वएमालेभित्र ओली र नेपालबीच जनप्रतिनिधिलाई जिल्ला नेतृत्वबाट बञ्चित नगर्ने समझदारी हुने संकेत देखिँदा जिल्लामा नेतृत्व दिन केही सहज हुनेछ ।

यसअघि साबिक एमालेको जिल्ला अध्यक्ष रहेका नेताहरु अहिले जनप्रतिनिधि भए पनि उक्त जिल्ला अध्यक्ष एमालेको भागमा परेमा सोही जिम्मेवारीमा रहन पाउने अवस्था आए तत्कालीन एमालेले पाउने भूगोलका ४७ जिल्ला अध्यक्ष तोकिँदा अब ओली पक्ष र नेपाल पक्ष लगभग हाराहारीमा हुनेछन् । केही संख्या ओली पक्षको बढी हुनेछ ।

नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा समेत ओली, प्रचण्ड र नेपालका बीचमा विवाद रहेको छ ।

केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन् । ७७ जिल्ला कमिटीमध्ये ४५ तत्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने समझदारी भएको छ ।

पूर्व माओवादीमा भने प्रचण्ड हावी भएकाले पूर्वमाओवादीको भागमा परेको संख्या टुंग्याउन समस्या छैन । पूर्व माओवादीमा भने कुनै पनि मापदण्डले काम गर्दैन । त्यसो हुँदा अध्यक्ष प्रचण्डले दिने नाम नै अन्तिम हुनेछन् । प्रचण्डले बादल र नारायणकाजी श्रेष्ठ समूहलाई मिलाए मात्रै समेटे पुग्छ । 


प्रतिकृया दिनुहोस