राष्ट्रपतिको चीन भ्रमणः नेपाल–चीनबीच पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने

निगमको जहाज चीन उडाउने एजेन्डा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको नौदिने राजकीय चीन भ्रमणका क्रममा चीनसंग पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने भएको छ । त्यस्तै, नेपाल एयरलाइन्सलाई चीनमा उडानको अनुमति दिलाउने विषयलाई पनि एजेन्डामा समेटिने सरकारी स्रोतले जनाएको छ । 


नेपाल–चीनबीचको पारवहन सम्झौताको प्रोटोकल तयार भइसकेको छ । प्रोटोकलमा दुवै मुलुक सहमत भएका छन् । नेपाल सरकारले प्रोटोकल स्वीकृत गरेर हस्ताक्षरका लागि वाणिज्य सचिवलाई अख्तियारी दिइसकेको छ । राष्ट्रपतिको आसन्न चीन भ्रमणमा प्रोटोकलमा हस्ताक्षर हुन सक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए । 


पारवहन सम्झौताको प्रोटोकलमा नेपालले चीनका सबै खुला बन्दरगाह प्रयोग गर्न, जुनसुकै मार्गबाट ढुवानी गर्न, सबैखाले यातायातको माध्यम प्रयोग गर्न, ६ नाकाबाट पारवहन ढुवानी गर्न र सिगात्सेसम्म आफ्नै ढुवानी साधन लैजान सक्ने उल्लेख छ । तर, प्रोटोकल सहमतिमा हस्ताक्षर नहुँदा पारवहन सुविधा लिन नेपाल अझै असमर्थ छ ।

प्रतिकृया दिनुहोस