भोली एकता टुंग्याउने गरी नेकपाका शीर्ष नेताबीच सैद्धान्तिक सहमति

आज ठोस सहमतिको सैद्धान्तिक आधार तयार गर्ने

काठमाडौं, वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार शीर्ष नेताबीच सैद्धान्तिक सहमति भएको छ । ११ महिनादेखि अल्झिएको एकता प्रक्रियाका बाँकी काम भोली टुंग्याउने गरी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच सैद्धान्तिक सहमति भएको हो । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार र शनिबार शीर्ष नेताबीचको छलफलले सकारात्मक निष्कर्ष निकालेको अवस्थामा तत्कालै केन्द्रीय सचिवालय बैठक बस्ने सम्भावना रहेको बताए ।

उनले छलफलमा भएको नीतिगत र सैद्धान्तिक विषयलाई आज बिहान ९ बजे बैठक बसेर प्रस्तावलाई अन्तिम रूप दिने तयारी रहेको बताए । केन्द्रीय सदस्य विष्णु रिजालले नेताहरूबीचको पछिल्लो छलफलले आजै ठोस सहमति बन्ने गरी सैद्धान्तिक आधार तयार गरेको जानकारी दिए ।  

विशेषगरी पूर्वएमाले समूहमा एकता टुंग्याउने मापदण्डबारे अध्यक्ष ओली र नेपालबीच समझदारी जुटेको थिएन । छलफलपछि अध्यक्ष ओली सबै जिल्लामा एउटै मापदण्ड लागू हुन नसके पनि नेपाल समूहलाई सम्मानजनक स्थानका साथ समेटेर प्रस्ताव टुंग्याउने निष्कर्षमा पुगेका छन् ।   

लामो समयदेखि एकता प्रक्रियाको बाँकी काम अल्झिँदा सरकार सञ्चालनमा समेत सकारात्मक प्रभाव नदेखिएपछि शीर्ष नेताहरूले पार्टी स्थापना दिवसमै टुंग्याउने गरी लगातार निर्णायक गृहकार्य गर्दै आएका छन् । 

प्रतिकृया दिनुहोस