राप्रपाद्वारा हिन्दु राष्ट्रका पक्षमा हुने संघर्षमा उत्रन अपिल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दु राष्ट्रका पक्षमा हुने आन्दोलन र संघर्षमा उत्रन सम्पुर्ण धार्मिक संघ, संस्था, धार्मिक समुदाय र आम जनसमुदायलाई अपिल गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले हिन्दु राष्ट्रको पुनःस्थापना, राजसंस्था लगायतका मुद्दामा समान विचार भएका दल, संस्था र व्यक्तिलाई सहकार्य र एकताका लागि राप्रपा आव्हान गरेको हो ।

बैठकपछि राप्रपाको विज्ञप्तिमा भनिएको छकी, हिन्दु राष्ट्रको पक्षमा हुने संघर्ष र आन्दोलनमा सडकमा उत्रन विभिन्न धार्मिक संघ, संस्था, धार्मिक समुदाय र आम जनसमुदायलाई राप्रपा आव्हान गर्दछ । बैठकले पहिलो चरणको जनसंघर्षको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रशासनिक हस्तक्षेप र धरपकडको निन्दा समेत गरेको छ । त्यसैगरी बैठकले भोलि हुने भनिएको पूर्वघोषित राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित समेत गरेको छ ।

नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्ने, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरिनुपर्ने, संघीयता बारे जनमतसंग्रह गरिनुपर्ने लगायतका २२ बुँदे माग राख्दै राप्रपाले चरणबद्ध संघर्ष गर्दै आएको छ । फागुन ७ गते प्रधानमन्त्री केपी ओलीलाई माग पूरा गर्न ध्यानाकर्षण गराएको राप्रपाले त्यसयता पहिलो चरणको जनसंघर्षका कार्यक्रम सम्पन्न गरिसकेको छ । 

जसअनुसार राप्रपाले मेची महाकाली १५ दिने राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दु राष्ट्रका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान,  संघ,  प्रदेश र जिल्लाका प्रशासनिक र विकास केन्द्रीत कार्यालयमा धर्ना,  धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रमहरु सम्पन्न गरेको हो ।   

प्रतिकृया दिनुहोस