नेकपाका शीर्ष नेताहरुबीच आज निर्णायक छलफल हुने

समय भने अनिश्चित

काठमाडौं । एकता प्रक्रियामा अल्झिएको नेकपाका शीर्ष नेताहरुबीच आज निर्णायक छलफल हुने भएको छ । केहि दिन देखि दिनहुँ छलफलमा व्यस्त नेताहरुले आज एकता टुंगो लगाउन शीर्ष नेताबीच सघन छलफल हुने नेताहरुले बताएका छन् ।


आज प्रधानमन्त्री विभिन्न कार्यक्रममा दिनभरि व्यस्त हुनेभएकाले छलफलको समय भने तय नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । लामो समयको अनिश्चय चिर्ने उद्देश्यका साथ शीर्ष नेता एकतालाई अन्तिम रूप दिने कसरतमा छन् ।


आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र शीर्ष नेता माधवकुमार नेपालबीच एकता टुंगो लगाउन निर्णायक छलफल हुने छ । यसअघि हिजो पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छलफल भएको थियो ।


प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया, वरिष्ठताका आधारमा नेतृत्व टुंगो लगानुपर्ने सुझाव दिएका थिए । यसअघि वरिष्ठ नेता झलनाथ खनालसहित सचिवालय सदस्यहरू वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, महासचिव बिष्णु पौडेलबीचमा एकता टुंगो लगाउने विषयमा छलफल भएको थियो ।


लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसका दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया टुंगो लगाउने गरी छलफल भइरहेको छ । नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीच विवाद छ ।


केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन् ।


७७ जिल्ला कमिटिमध्ये ४५ तत्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने समझदारी शीर्ष नेताबीच भए पनि नेतृत्वको विषय अझै टुंगो लाग्न सकेको छैन । नेतृत्वको टुंगो लगाउने विधि, प्रक्रिया एवं मापदण्डमा केन्द्रित भई शीर्ष नेताबीच छलफल जारी छ । 
 

प्रतिकृया दिनुहोस