जुका जस्तै टाँसिएर डट बल थप्दै बस्नु भन्दा स्ट्राइक अरुलाई दिने की मन्त्री ज्यु

कामठमाडौँ । क्रिकेटको टी २० संस्करण शुरु भएपछि एउटा भनाई छ, हान्न सकिन्न भने डट बल थप्नुभन्दा आउट हुनु वेश । त्यसो त कुनै पनि टीमका लागि विकेट जानु ठूलो कुरा होइन । तर कतिपय अवस्थामा आफू खुल्न सकिन्न र आफूले अपेक्षित लक्ष्य हासिल गर्न सकिन्न भने दुई कदम पछाडि हटनु टीमका लागि बुद्धिमत्तापूर्ण हुन्छ । त्यसैले अहिले पनि आइपिएलको खेलहरुमा कमेन्टेटरहरुले बारम्बार भन्छन्, कि रन बनाउ, होइन भने अरुका लागि बाटो खुला गर । बल मात्र १२० छन् । 

यो कथन नेपालका मन्त्रीहरुका लागि पनि पूर्णरुपमा लागु हुन्छ । अहिले ओली सरकारले लिएको लक्ष्य पुरा गर्न कतिपय मन्त्री असफल भएका छन् । कम्युनिष्ट पार्टीले जनतासामु लगेको घोषणापत्रमा व्यक्त भएको कुरा हुन या उनीहरुले नै सार्वजनिक गरेका प्रतिबद्धता किन नहोउन, यी पुरा गर्न मन्त्रीहरु असफल भएका छन् । कारण जे दिएपनि या उनीहरुले हामीले त सबै थोक राम्रै गरेका छौं भने पनि व्यापकरुपमा चुलिएको असन्तुष्टि प्रतिपक्षको आक्रोश मात्र कदापी होइन ।

 बरु यो वास्तविकतामा पनि असफलता नै हो । त्यसो हो भने प्रश्न उठछ– यदि काम नै गर्न नसकिने र प्रावधिक कारणको मात्र बहाना बनाउने हो भने राजिनामा किन नदिने ? कम्तीमा अर्को आउने व्यक्तिले विगतका गल्तीबाट पाठ सिकेर केही राम्रो त गर्ला कम्तीमा विगतका गल्ती त नगर्ला ।

तर बिडम्बनाको कुरा, नेपालका मन्त्रीहरुमा त्यो संस्कार देखिन्न । बल्लतत्ल पाएको मन्त्रीपद गुमाउन उनीहरु हत्तपत्त चाहँदैनन । उनीहरुलाई लाग्छ– उनीहरुले एकदमै राम्रो गरेका छन् । उनीहरुले जनताका अपेक्षा पुरा गरेका छन् । बरु उनीहरु विपक्षीलाई आरोप लगाउँछन या कर्मचारीलाई दोष दिन्छन् । फलानोको कारण या फलानो अवस्था भएकोले सोचेजस्तो भएन ।

 तर त्यो सोचेजस्तो नहुनका लागि तार्किक, विेककपूर्ण र बौद्धिकरुपमा आफूले के गरे भन्ने कुरा उनीहरुले सोच्दैनन । त्यो दिशामा बहस हुन्न । कतिपयले प्रधानमन्त्रीलाई दोष दिन्छन, कतिपयले कर्मचारी र कतिपयले आफ्नै समूहका व्यक्तिहरुलाई सहयोग नगरेको भनेर दोष दिन्छन् । तर यो सबै असफलता ढाकछोप गर्ने बहाना मात्र हो ।

 सफलता र असफलताका पछाडि सिष्टमसँगै व्यक्तिको कार्यक्षमताले पनि निर्णायक भूमिका निर्वाह गरेको हुन्छ । सबै व्यक्तिको कार्यक्षमता उस्तै हुँदैन । र, मन्त्री बन्ने बित्तिकै सबै व्यक्ति विषयगत मन्त्रालयका काम कारवाहीका विज्ञ पनि भइहाल्दैनन । तर राजनीतिज्ञहरुले प्रशासन र नीति हाँक्ने दूरदर्शिता र क्षमता राख्न सके विज्ञता या व्यवस्थापन त्यति चुनौतीको कुरा पनि होइन । कर्मचारीहरुले शुरुमै मन्त्रीलाई तौलिन्छन् । कसको औकात, हैसियत र क्षमता के हो त्यो उनीहरुले आँकलन गरिसकेका हुन्छन् । त्यही आधारमा उनीहरुले मन्त्रीलाई सहयोग या असहयोग गर्ने अवस्था हुन्छ । यो कुरा अहिलेका मन्त्रीहरुले बुझ्नु जरुरी छ । 

त्यसैले मन्त्रालय सम्हालेपछि विषयबस्तुको गहिरो अध्ययन गर्ने, सोही अनुरुपको टीम निर्माण गर्न, कर्मचारी संयन्त्रलाई त्यही अनुरुप परिचालन गर्ने र प्रधानमन्त्री कार्यालयसँग नियमित सोही आधारमा छलफल र कतिपय अवस्थामा बार्गेनिङ गर्ने अवस्थामा मन्त्रीहरुले जनअपेक्षा अनुरुप काम गर्न नसक्ने भन्ने हुँदैन । 

तर हाम्रा मन्त्रीहरुले यो कुरा हेक्का राखेको देखिन्न । दावी गरेर भन्दा कतिजना मन्त्रीले विषयगत मन्त्रालयका ऐन, नियम, कानुन र निर्देशिका पढेका छन्  ? त्योसँग सम्बन्धित राष्ट्रिय अन्तर्राष्ट्रि य दस्तावेज अध्ययन गरेका छन् भनेर सोधिनीति गर्दा निराशाजनक उत्तर पाइन्छ होला ।

मन्त्रीले विषयगत मन्त्रालयको जिम्मेवारी लिएपछि सो सम्बन्धी अधिकांश विषयमा अध्ययन गर्नुपर्छ । अध्ययन गर्न नसके सोही अनुरुपको विशेषज्ञको टीम (चाकरको होइन) बनाउनुपर्छ । ब्रिफिङ लिनुपर्छ । तर हामीकहाँ चाकरहरुको कुरामा मन्त्रीहरु खुशी हुन्छन् । आफूले अध्ययन गरेका हुँदैनन बरु विश्वास गर्नेहरुका कुरा सुन्छन् । र, ती विश्वास गर्नेहरुलाई दलालहरुले प्रभावमा पारेका हुन्छन् । यो चक्रीय क्रमले मन्त्रीहरुले जनताको आशा पुरा गर्न सक्दैनन् । 

बिडम्बना, यो कुरा मन्त्रीहरु स्वीकार्दैनन् । तर उनीहरुले स्वीकारे पनि या नस्वीकारेपनि परिणामले भने उनीहरुको हैसियत देखाएको हुन्छ । अहिले कतिपय मन्त्रीहरुका बारेमा सामाजिक सञ्जालदेखि आमरुपमा देखिने टिप्पणीहरुले यसको पुष्टि गर्छन । 


त्यसैले यदि पार्टीका लागि, जनताका लागि केही गर्ने सोच राखेर राजनीतिमा अघि बढेको हो भने, सत्तालाई व्यक्तिगत स्वार्थ भन्दा जनताका लागि उपयोग गर्ने मन हो भने काम गर्न नसक्ने र आफ्नो प्रतिबद्धतामा खरो नउत्रिने मन्त्रीहरुले राजिनामा दिनु देश र जनताका लागि हितकर हुन्छ ।

डट बल खाएर टिमलाई हराउनु भन्दा आफूले सकेसम्म हिट गर्ने र आउट हुने रणनीति अख्तियार गरे मात्र नेकपा र अहिलेको सरकारको पनि इज्जत रहने देखिन्छ । अन्यथा, आलोचनाको चाङमा हरुवा भएर बाहिरिनुपर्ने अवस्था फेस गर्न नपर्ला भन्न सकिन्न ।


प्रतिकृया दिनुहोस