बँदेलले हैरान बनायो मण्डन देउपुरबासीलाई

बन कार्यालय भन्छ, बँदेल नियन्त्रणमा स्थानीयको सक्रियता चाहिन्छ

काभ्रे । कुनै दिन यो ठाउँ प्राकृतिक सुन्दरताका साथसाथै कृषिमा पनि अगाडि मानिन्थ्यो । गाउँमा बसोबासको हिसाबले पनि मानिसहरुको संख्या र घरधुरी राम्रै थियो ।

स्थानीयले घाँसदाउरा ल्याउन सामुदायिक वनको प्रयोग नगरी आफ्नै निजी बनको मात्र प्रयोग गर्दथे । जसका कारण उक्त क्षेत्रको बन निकै नै संरक्षित हुँदै गयो । बन संरक्षित हुँदै गएका कारण नै विस्तारै खेतीपातिमा जंगली जनावरको अतिक्रमण पनि सुरु भयो । 

स्थानीयले लगाएको जंगल नजिकका खेतबारीमा बँदेल आएर हैरानी दिन थाल्यो । स्थानीयले सुरुका दिनमा बँदेलले त्यस्तो समस्या ल्याउँछ भन्ने पनि सोचेनन् । तर बिस्तारै बालुवापाटीबासी बँदेलले लगाएको बाली जति सखाप पार्न थालेपछि हैरानी बेहोर्न थाले । जो अहिले पनि जारी छ । 

पहिले जंगल नजिकका खेतीपातिमा मात्र नोक्सान भएको हुँदाबीच भागमा भएका जग्गाका अन्नबाली जोगिएका थिए । तर जंगल नजिकका खेतबारीमा पछि खेतीपाति नै गर्न छाडियो । पछि बीचमा भएका जग्गामा पनि बँदेल अतिक्रमण सुरु भयो । जसका कारण त्यहाँका केही स्थानीयले जमिन नै बेचेर अन्य ठाउँमा बिस्थापित हुने क्रम सुरु भयो । 

पछि २०७२ सालको भूकम्प त्यहाँका अन्य स्थानीयलाई पनि बसाइँ सर्न खुराक जस्तै बन्यो । त्यहाँका स्थानीयले भूकम्पपछि त्यहाँको घर भत्किएपछि गाउँ नै छाडेर सहरतिर पस्न सुरु गरे ।

यो ठाउँ हो सुन्दर पर्यटकीयस्थल नगरकोट नजिक रहेको गाउँ रोहिणीको । जुन काभ्रेपलाञ्चोक जिल्लाको साविक बालुवापाटी गाविस हाल मण्डन देउपुर नगरपालिकामा पर्छ । 

‘बँदेलले खेतीपाति नै हुन नदिएपछि यहाँ घर नबनाइ जग्गा बेचेर अन्यत्र सर्ने कि भन्ने बिचारमा छौं’ स्थानीय गोपाल घिमिरेले भने, ‘सबैले गाउँ छाडेर गइसके यो टोलमा हाम्रो परिवारबाहेक स्थायी रुपमा बस्ने अरु कोही छैन ।’ बँदेलकै कारण आफूले पूरै जग्गा बाँझो राख्न बाध्य भएको उनले बताए । हाल उनको ५ रोपनी जग्गा बाँझै छ ।

बद्री जस्तै त्यहाँका थुप्रै बँदेल पीडित भूकम्पपछि त्यहीँ घर बनाएर बस्ने कि अन्यत्र सर्ने भन्ने अन्योलमा छन् । खेतीपाति नै हुन छाडेपछि यहाँका जमिन डाँडोमा परिणत हुन थालेका छन् । 

‘जति नै बँदेलले दुःख दिए पनि गाउँ त छोडेर जाँदैनौं’, स्थानीय डण्डबहादुर ढकालले भने, ‘तर खेतीपाति नै गर्न छाडेपछि घरमै आएर आक्रमण गर्ने हो कि भन्ने त्रास सुरु भइसक्यो ।’ बँदेलले जमिनमा लगाएका अन्न मात्र नभई उम्रिएका तरुल, सखरखण्ड, पिडालु लगायतका अन्नबालीसमेत खाइदिने गरेको उनले बताए ।

उनले पहिलेदेखि नै सम्बन्धित निकायलाई आफ्नो क्षेत्रका बारेमा जानकारी गराइ बँदेलको नियन्त्रणका लागि भन्दा जंगलमा पिडालु रोप्न सुझाएको दुःखेसो पोखे । ‘जंगलमा पिडालु रोपेर समस्याको समाधान हुने भए हामीले किन सम्बन्धित निकायलाई गुहार्नुपथ्र्यो ?’ ढकालले आक्रोस पोखे । तत्काल बँदेलको नियन्त्रण नगरे भूकम्पपिडित कसैले पनि घर बनाउन नसक्ने अवस्था रहेको उनी बताउँछन् । 

‘बँदेलले दुःख दिए पनि खेतीपाति त लगाइरहेकै थियौं । गाउँमा काम गर्ने कोही नपाइने समस्यापछि लगाउनै छाडियो’ बच्चुराम घिमिरे भन्छन्, ‘गाउँमा बँदेलकै कारण युवा जति सहर गएका छन्, कोही विदेश पलायन भएका छन् ।’

बँदेलको अतिक्रमण बढ्दै गएपछि त्यहाँका स्थानीय त्यसको नियन्त्रण गर्नुभन्दा बसाइँ सरेर जानु नै उपयुक्त मनेर गाउँ छाडेर जाने क्रम झनै बढ्दै गएको छ । त्यसका विषयमा केही समयअघि जिल्ला बन कार्यालयले पनि अनुगमन गरेको थियो । स्थानीयको सक्रियतामा नै बँदेलको नियन्त्रण हुन सक्ने कार्यालयले सुझाएको थियो । 

हाल स्थानीय सरकार पनि आइसकेको अवस्थामा भने त्यसको नियन्त्रण हुनुको सट्टा झनै विकराल हुँदै गइरहेको छ । काभ्रेका ६ नगरपालिकामध्ये मण्डनदेउपुर नगरपालिकालाई सबैभन्दा विकट नगरपालिकाका रुपमा लिइन्छ । आफू स्थानीय सरकारमा आइसकेपछि बँदेलको अतिक्रमणका विषयमा कुनै चर्चा नभएको मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइवा बताउँछन् । 

‘बँदेलको नियन्त्रणका लागि नगरपालिकाले रणनीति तयार पार्दै छ ।’ वाइवाले भने । आफू नगरप्रमुख हुनुअघि सिडियो कार्यालयमा यस समस्याको समाधानका लागि कुरा गरेको उनको भनाई छ । 

बदेलको समस्या अहिले मण्डनदेउपुरको मात्रै होइन, घना जंगल भएका जिल्लाका धेरै गाउँको समस्या उस्तै छ । समयमा नै बदेलको समस्याको समाधान नभए गाउँका मानिस सबै सहर पस्ने छन् भने देश झनै परनिर्भर बन्ने अवस्था बढ्न सक्छ । यसको समाधाका निम्ति सरकारी निकाय सचेत हुनु आवश्यक छ । त्यस्तै समाधानका लागि सर्वप्रथम समुदाय नै सचेत हुनु आवश्यक छ । 


प्रतिकृया दिनुहोस