कांग्रेसको बैठक बस्दै, के गर्ला त बैठकले निर्णय ?

Congress party office

काठमाडौं । पार्टीभित्र गुटगत राजनीति बढ्दै गएपछि नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । दुई दिनसम्म असन्तुष्ट जिल्ला सभापतिहरुको भेला बसेपछि कांग्रेसले केन्द्रिय समितिको बैठक बोलाएको हो ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने विषयमा छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्ने लगायतका विषयमा छलफल हुनेछ ।

पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग रहेका छन् । १३ औं महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि कांग्रेसका केन्द्रीय विभाग गठन हुन सकेका छैनन् ।

केन्द्रीय सभापतिको अध्यक्षतामा पदाधिकारी स्वतः पदेन सदस्य हुने र केन्द्रीय सदस्यबाट ३१ जना चयन हुने कार्यसम्पादन समितिले केन्द्रीय समितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्नुपर्ने काम गर्छ ।

कांग्रेसमा अहिले सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री, एक कोषाध्यक्ष र प्रवक्ता पदाधिकारी छन् । कांग्रेसले यसअघि पनि कार्यसम्पादन समिति गठन गरेको थियो । तर, पार्टीभित्रै विधानविपरित धेरै संख्या रहेको भनी आलोचना भएपछि विघटन भएको थियो ।

सो बैठकले पार्टी विधान अन्तर्गतको नियमावली बनाउन ढिलाइ हुने देखिएपछि पार्टीको क्रियाशील सदस्यता वितरणका लागि आवेदन फारमको ढाँचा पनि स्वीकृत गर्ने, विभिन्न भ्रातृ संस्थाको विधानसमेत पारित गर्ने तयारी गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

चैत ५ गतेको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिमा मीन विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल सदस्य छन् ।

प्रतिकृया दिनुहोस