सर्वोच्च अदालतका प्रस्तावित पाँच न्यायाधीश विरुद्ध आजदेखि उजुरी दिन सकिने

Court

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित पाँच न्यायाधीश विरुद्ध आजदेखि उजुरी दिन सकिने भएको छ । संसदीय सुनुवाइ समितिले हिजोको प्रारम्भिक बैठकले प्रस्तावित न्यायाधीश विरुद्धमा कुनै उजुरी भएमा माग गर्ने निर्णय गरेको हो ।

आजदेखि १० दिन सम्मको समयभित्र सरोकारवाला र सर्वसाधारणले उजुरी दिन सक्नेछन् । सरोकारवाला तथा सर्वसाधारणले प्रस्तावित न्यायाधीश उपर इमेल तथा समिति सचिवालयमा नै उपस्थित भएर उजुरी दिन सक्नेछन् । यस्तै, सबै जिल्ला प्रशासन कार्यालय मार्फत पनि उजुरी दर्ता गर्न सकिनेछ । न्यायपरिषद्ले मङ्गलबार सर्वोच्च अदालतमा पाँच न्यायाधीश सिफारिस गरेको थियो । परिषद्ले उच्च अदालतका दुई मुख्य न्यायाधीश र तीन कानुन व्यवसायीलाई सर्वोच्चका न्यायाधीशमा सिफारिस गरेको थियो ।

सर्वोच्चमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा हुनुहुन्छ । यस्तै, कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवक्ताद्वय हरिप्रसाद फुँयाल र डाक्टर मनोजकुमार शर्मा छन् । सुनुवाइ प्रक्रियामा उजुरी आह्वानपछि समितिले उजुरी प्राप्त भएमा समितिले उजुरीकर्तासँग छलफल गर्नेछ ।

समितिले सुनुवाइपछि प्रस्तावित न्यायाधीशलाई स्वीकृत वा अस्वीकृतसम्बन्धी निर्णय गर्नेछ । सुनुवाइ प्रक्रिया प्रारम्भ भएको ४५ दिनभित्र समितिले प्रक्रिया सकेर सोको जानकारी पत्राचार गर्ने निकायलाई पठाउनु पर्नेछ ।

प्रतिकृया दिनुहोस