जिल्ला सभापतिहरुको भेला ठमेलमा, ४३ जिल्लाका सभापति भए सहभागी

Congres neta

काठमाडौं । स्वतः प्रतिनिधि बन्ने प्रावधान हटाउनु पर्ने माग सम्बोधन नभएपछि कांग्रेसका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका जिल्ला सभापतिहरुको भेला ठमेलस्थित काठमाडौं एक होटलमा सुरु भएको छ ।

बिहीबारसम्म चल्ने भेलामा ४३ जिल्लाका सभापतिहरु सहभागी छन् । गत पुसमा सम्पन्न महासमिति बैठकले अनुमोदन गरेको निर्णयलाई उल्टाएपछि जिल्ला सभापतिहरुले त्यसको विरोध गर्दै आएका छन् । भेलामा संस्थापन पक्षीय जिल्ला सभापतिहरुलाई पनि बोलाइएको थियो । तर, उनीहरु उपस्थित भएका छैनन् ।

पदाधिकारीसहित केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधानलाई विधानबाट हटाउनु पर्ने र समानुपातिक निर्वाचन प्रणालीका लागि राखिएको आरक्षण व्यवस्थामा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर पाउन नहुने जिल्ला सभापतिहरुले प्रस्ताव गरेका थिए । पुस ८ मा सकिएको महासमिति बैठकमा चार दर्जनभन्दा बढी जिल्ला सभापतिहरुले लिखित रुपमै त्यो प्रस्ताव पारित गर्न नेतृत्वलाई दवाव दिएका थिए ।

जिल्ला सभापतिहरुको प्रस्तावलाई अधिकांश महासमिति प्रतिनिधिले समर्थन गरेका थिए । जिल्ला सभापति र अन्य प्रतिनिधिहरुको प्रस्ताव अनुरुप केन्द्रीय समितिले विधान पारित गर्ने पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले महासमिति समापन समारोहमा प्रतिबद्धता जनाएका थिए ।

तर, सभापति र नेताको प्रतिवद्धतालाई केन्द्रीय समितिमा बहुमतले लत्याउँदै पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको थियो । त्यसको विरोधमा २१ फागुनमा ५६ जिल्ला सभापतिहरुले हस्ताक्षर गर्दै विज्ञप्ति निकालेर केन्द्रीय कार्यसमितिको बैठकको बहुमतको निर्णयविरुद्ध दवाव सृजना गर्ने उल्लेख गरेका थिए । त्यही दवाव अनुरुप भेला आह्वान गरिएको हो ।

प्रतिकृया दिनुहोस