प्रधानमन्त्री ओली आज गृह जिल्ला झापा जाँदै, यस्तो छ कार्यतालिका

Kp oli sharma pm

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज र भोलि आफ्नो गृह जिल्लासहित पूर्वी क्षेत्रको भ्रमणमा जाँदै छन् ।  विभिन्न कार्यक्रमको उद्घाटन तथा संम्वोधन गर्नका लागि प्रधामन्त्री ओली मोरङ र झापा जान लागेका हुन् ।

प्रधानमन्त्री ओली आज राजधानीबाट विराटनगर जाने र दिउसो सवा १२ बजे मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै दिउसो ३ बजे प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रको दमक नगरपालिका परिषरमा आयोजना हुने प्रदेशन नं १ स्तरीय साहित्यीक र प्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम छ । ओलीले नगरपालिका भवनको उद्घाटन गर्नेछन् । ओलीले आज नै मदन भण्डारी रंगशाला सम्बन्धी सरोकारवालाहरुसंग छलफल र भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । त्यसपछि प्रधानमन्त्री ओलीले गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी भोली बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको शपथ तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने र दमकमा निर्माण गरिएको पशुपक्षी हाट उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले दिउँसो साढे १२ बजे भारतीय राजदूतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिका स्थित स्कूलचौन माविको भवन उद्घाटन र हस्तान्तरण गरी प्रधानमन्त्री ओली भोली नै भद्रपुरबाट काठमाडौँ फर्कने छन् ।

प्रतिकृया दिनुहोस