अध्यागमनका कर्मचारीको हर्कत : मानव तस्करीमा सेटिङ

Trivuwon int airline

काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ ।

विमानस्थल अध्यागमनका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ ।

फागुन १६ गते दुबई हुँदै मरिसस गएका रुकुम चौरजहारीका अविनाश नेपाली, हिमबहादुर बुढा, ओपेन्द्र बुढामगर, वीरेन्द्र बुढामगर र सल्यानका खिमबहादुर बस्नेतलाई त्यहाँको अध्यागमनले प्रवेश दिएन ।

मरिसस प्रहरी र अध्यागमनका कर्मचारीले धेरैबेर केरकार गरेपछि पाँचै जनालाई सोही दिन दुबई हुँदै नेपाल फिर्ता गरिदियो । उनीहरू पर्यटक भिसामा फागुन १६ गते काठमाडौंबाट दुबई हुँदै अफ्रिकी मुलुक मरिसस गएका थिए ।

अध्यागमन कर्मचारीले नै फागुन ७ मा ती ५ युवालाई कागजपत्र नमिलेको भन्दै फर्काइदिएका थिए । त्यसको एक सातापछि पुरानै कागजपत्रका आधारमा अध्यागमन कर्मचारीले उनीहरूलाई उडाए ।

सुरुमा प्रस्थान अनुमति नदिएका ५ जनालाई के कारणले पुरानै कागजपत्रका आधारमा कर्मचारीले प्रस्थान अनुमति दिए अनुसन्धानको विषय बनेको छ ।

मरिसस अध्यागमनले फर्काइदिएपछि रुकुम फर्केका अविनाशले पहिलो पटक जाँदा विमानस्थलले फकाईदिएको र त्यसको एक सातापछि प्रस्थान अनुमति दिएको बताए ।

‘फर्काएको एक सातामा नै फेरि के कारणले प्रस्थान अनुमति दिएको हो, त्यसबारे हामीलाई केही थाहा छैन’, उनले भने, ‘हामीलाई लैजानै मान्छेले नै एयरलाइन्स र अध्यागमनमा मिलाएका हुन् ।’

आकर्षक जागीर मिलाइदिने प्रलोभनमा ५ जनाले प्रतिव्यक्ति ४ लाखका दरले मानव तस्करलाई रकम दिएका थिए । त्यही रकममा सेटिङ गर्ने देखि मरिससमा काम खोजिदिनेसम्म तस्कर समूहले जिम्मा लिएको थियो ।

उनीहरूको सञ्जालले एयरलाइन्स र अध्यागमनमा सेटिङ गरेका हुन् । उनीहरूले एयरलाइन्स र अध्यागमनमा सेटिङ गर्न कति रकम खर्चिए खुलेको छैन ।

विमानस्थल अध्यागमनका कर्मचारी भने श्रम छलेर जाने कसैलाई पनि प्रस्थान अनुमति नदिएको दाबी गर्छन् । मरिसस गएका ५ युवाबारे अध्यागमनकै अधिकांश कर्मचारी बेखबर छन् ।

विमानस्थल अध्यागमन कार्यालय प्रमुख कुमार खड्काले पर्यटक भिसामा मरिसस गएकोबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘केही युवालाई मरिससले फर्काएको भन्ने सुनेको छु । के रैछ म बुझ्दैछु ।’

गृह मन्त्रालयले खाडीलगायत अफ्रिकी देशमा पर्यटक भिसामा जान कडाइ गरेको छ । घुम्ने बहानामा जाने, नफर्की त्यहीं काम गर्ने र दुःख पाए सरकारलाई दोष दिने प्रवृत्ति बढेपछि गृहले पर्यटक भिसामा कडाइ गरेको हो । स्पष्ट उद्देश्यबिना रुस, पोर्चुगललगायत देश जानसमेत गृहले कडाइ गरेको छ ।

मानव तस्करले विमानस्थल अध्यागमनमा सेटिङ गरी पर्यटक भिसा भएकालाई गैरकानुनी तवरले खाडी र अफ्रिकी देश पठाउने गरेका छन् ।

अध्यागमन कर्मचारीले विमानस्थल वरिपरिका रेस्टोरेन्टमा सेटिङको डिल गर्ने गरेको तथ्यसमेत फेला परेको छ । म्यानपावर कम्पनीका एजेन्ट र ट्राभल एजेन्सीका कर्मचारीले अध्यागमनका कर्मचारीलाई सेटिङमा भएका व्यक्तिको सूची दिन्छन् ।

एजेन्टले भाइबर र इमेलमार्फत अध्यागमन र एयरलाइन्सका कर्मचारीलाई मान्छेको लिस्ट पठाउने गरेको स्रोतले बताएको छ । म्यानपावरका एजेन्ट, ट्राभलका कर्मचारीले अध्यागमनका कर्मचारीलाई आर्थिक प्रलोभन देखाएर अवैध ढंगले मान्छे उडाउने गरेका छन् ।

‘हामीले विमानस्थलस्थित अध्यागमनबाट विगतमा हुँदै आएको सेटिङ तोड्न खोजेका हौं । केही सुधार पनि भएका छन्’, गृह मन्त्रालयका एक अधिकारीले भने, ‘केही खराब मानसिकता भएका कर्मचारीका कारण समग्र अध्यागमनको छवि बिग्रने अवस्था आएको छ ।’

प्राविधिक हिसाबले अध्यागमन संयन्त्र बलियो बनाउने प्रयास भइरहेका बेला विमानस्थलस्थित अध्यागमन कर्मचारीले देशकै बेइज्जत हुने गरी मानव तस्करीमा संलग्न भएको पाइएको हो ।

श्रम स्वीकृती नभएका युवाहरूलाई तस्करसँगको सेटिङमा विमानस्थल अध्यागमन कर्मचारीले खाडी मुलुक, माल्टा, पोर्चुगल र अफ्रिका पुर्याउने गरेका छन् ।

अवैध ढंगले माल्टा, पोर्चुगल पठाएको विषयमा गृह मन्त्रालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अहिले छुट्टाछुट्टै छानबिन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...