यस्तो छ २०७६ मा हुने सार्वजनिक विदाको विवरण, इद र इदुल्ल फित्रदेखि क्रिसमस डेमा समेत विदा

Sarbajanik bida

काठमाडौं । सरकारले २०७६ मा जातीय धर्म मान्ने दिनका अलावा १५ दिन सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी देशैभरी विदा हुने गरी भने १५ दिन मात्रै सार्वजनिक विदा दिने उल्लेख गरेको छ ।

असार, साउन र भदौ महिनामा एक दिन पनि देशभर लागू हुने गरी सार्वजनिक विदा दिइएको छैन । मंसिर, पुस, माघ र चैत महिनामा देशभर लागू हुने गरी विदा दिइएको छैन ।

सबैभन्दा बढी असोजमा ६ दिन सार्वजनिक विदा दिएको छ । असोज ३ गते शुक्रबार संविधान दिवसको दिन सार्वजनिक विदा दिइएको छ ।असोजमै १८ गते शनिबारदेखि २२ बुधबारसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन सार्वजनिक विदा दिइएको छ ।

कात्तिक महिनामा तिहारका तीन दिन विदा परेको छ । कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन विदा दिइएको छ । वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक विदा दिइएको छ ।

सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि पनि सार्वजनिक विदा दिएको छ । अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते मंगलबार अन्तर्राष्ट्रिय अपांगता दिवसमा विदा दिइएको छ । शिक्षण संस्थाहरुमा माघ १६ गते विहीबार श्रीपञ्चमीको दिन पनि विदा दिइएको छ ।
जेठ महिनामा एक दिन मात्र ४ गते शनिबार सार्वजनिक विदा दिइएको छ । फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा दिइएको छ । फागू पूर्णिमाका दिन फागुन २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार सार्वजनिक विदा दिइएको छ ।

महिला कर्मचारीहरुलाई भदौं १६ गते सोमबार तीजका दिन सार्वजनिक विदा दिइएको छ । जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले भने असोज ५ गते आइतबार पनि विदा पाउनेछन् ।

यी हुन् भौगोलिक क्षेत्रअनुसारका विदा
सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि पनि सार्वजनिक विदा दिएको छ । काठमाडौं उपत्यकामा ४ वटा जात्राको दिन विदा दिइएको छ । जसमा साउन ३१ गते शुक्रबार गाईजात्रा, भदौ २७ गते शुक्रबार इन्द्रजात्रा, चैत ११ गते मंगलबार घोडेजात्रा र मत्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन विदा दिइएको छ ।

त्यस्तै कात्तिक २५ गते सोमबार फाल्गुनन्द जयन्तीमा किराँत धर्माबलम्बीलाई र कात्तिक २६ गते मंगलबार गुरु नानक जयन्तीमा नेपाली शिख धर्माबलम्बीलाई विदा दिइएको छ । किरात, राई, याख्या, सुनुवार, लिम्बुजातिले उभौली पर्व – चण्डी पूर्णिमा (वैशाख पूर्णिमा)का दिन जेठ ४ गते शनिबार विदा पाउनेछन् ।

किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही – ज्यापु दिवस (मंसिर पूर्णिमा, धान्य पूर्णिमा) का दिन मंसिर २६ गते बिहीबार उनीहरुलाई सार्वजनिक विदा दिइएको छ । सुदूरपश्चिम क्षेत्रमा गौरा पर्वका दिन भदौ ६ गते शुक्रबार विदा हुनेछ । मधेसमा कात्तिक १६ गते शनिबार छठ पर्वको विदा हुनेछ ।

इस्लाम धर्मावलम्बीहरुले इद (इदुल्ल फित्र) र इदुल (इदुल जोहा) का दिन विदा पाउनेछन् । इसाइ धर्मावलम्बीलाई क्रिसमस डेमा विदा हुनेछ । गुरुङ समुदायले तमु ल्होसारमा पुस १५ गते मंगलबार विदा पाउनेछन् । माघे संक्रान्तिमा माघ १ गते बुधबार थारु, मगर, छन्त्याल जातिलाई विदा दिइएको छ । तामाङ समुदायले माघ ११ गते शनिबार सोनम ल्होसारमा विदा पाउनेछन् ।

हिमाली आदिवासी शेर्पाहरुले ग्याल्बो ल्होसारको दिन फागुन १२ गते सोमबार विदा पाउनेछन् । झापा, मोरङ सुनसरी, सिरहा, सप्तरी जिल्लाहरुमा सिरुवा पावनी पर्व मनाइने दिन विदा दिइएको छ । धबथाम्बु थेउचिक पर्व मनाउने जिल्लाहरुमा उक्त दिन विदा दिने राजपत्रमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस