संघीय संसदको एक वर्षे कार्यकाल पूरा, १७ वटा कानुन निर्माण

Samsad

काठमाडौं । पाँच वर्ष कार्यकाल भएको संघीय संसदले एक वर्षे कार्यकाल पूरा गरेको छ । गत वर्ष फागुन २१ गते पहिलो अधिवेशन सुरु भएको थियो । हाल संघीय संसदको तेस्रो अधिवेशन जारी छ।

२०७२ सालमा जारी भएको नेपालको संविधानअनुसार गत वर्ष मंसिर १० र २१ गते दुई चरणमा गरी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक भएको थियो । चुनावमा नेकपाले झण्डै दुई तिहाइ बहुमत ल्याएको थियो भने प्रतिपक्षीका रुपमा कांग्रेस कमजोर रुपमा उपस्थित भएको थियो।

मंसिरमा चुनाव भए पनि राष्ट्रियसभाको गठन हुन ढिलाई हुँदा अधिवेशन केही ढिलो गरी फागुन २१ गतेदेखि सुरु भएको थियो । प्रतिनिसभा र राष्ट्रियसभा गरी दुई संघीय संसद दुई सदन रहेका छन् ।

एक सय ६५ प्रत्यक्ष निर्वाचित र समानुपातिकबाट एक सय १० गरी प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ भने राष्ट्रियसभा ५९ सदस्यीय छ । संघीय संसदको अधिवेशन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । ओलीले दुई सय ८ मत पाएका थिए ।

पहिलो अधिवेशनमै संसदीय संसदले राष्ट्रपति, उपराष्ट्रपतिसहित सभामुख, राष्ट्रियसभाको अध्यक्ष उपाध्यक्ष, उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित गरेको थियो । संघीय संसदको अधिवेशन सुरु भएको एक वर्षभित्र सबै कानुनलाई संविधानअनुकुल बनाएको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले आइतबार नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण गरेकी छिन् ।

मौलिक हक कार्यान्वयनसँग सम्बन्धित १७ वटा कानुन पनि संघीय संसदले यहि एक वर्षको अवधिमा निर्माण गरेको छ ।

प्रतिकृया दिनुहोस