मगर दिवसमा अर्जेवामा भयो साँस्कृतिक कार्यक्रम

Tapari 1

काठमाडौं । मगर दिवसको अवसरमा बाग्लुङ जिल्ला जैमिनी नगरपालिका वडा नं. ६ अर्जेवामा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

दिवसका अवसरमा आदिवासी जनजाति सञ्जाल जैमिनी नगरपालिका वडा नं. ६ अर्जेवाले बुधबार अर्जेवामा आयोजना गरेको कार्यक्रममा स्थानीय मगर समुदायले कौडा र जालैजोलगायत समुदायको पहिचान झल्किने साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा टपरी बुन्ने प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।

सोही अवसरमा वडा अध्यक्ष कृष्णबहादुर थापाले पछिल्लो समयमा देशका विभिन्न स्थानमा होमस्टे सञ्चालन गर्ने प्रचलन बढ्दै गएको बेला अर्जेवामा पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ होमस्टे सञ्चालनका निन्ति चितवन र तनहुँ लगायतका जिल्लामा अध्ययन कार्य सम्पन्न भएको जानकारी दिए ।

४ सय ८४ जनसङ्ख्या रहेको अर्जेवामा करिव ५० प्रतिशत आदिवासी जनजातिको बाहुल्य रहेको छ । अर्जेवामा विशेष गरी मगर समुदायको परम्परागत खानासँगै संस्कृति र कलाको प्रचार–प्रसारका लागि पनि होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।

सोही अवसरमा वडा सदस्य बुद्धिबहादुर थापा र वडा सचिव कमला परियार लगायतले अर्जेवालाई पर्यटकीय रुपमा विकास गर्न वडाबाट सक्दो पहल भइरहेको बताए ।

प्रतिकृया दिनुहोस