कैदिले गरे घाँटी रेटेर आत्महत्याको प्रयास

Aatma hattya 22125

गुल्मी । जिल्ला अदालत गुल्मीमा कर्तव्य ज्यान सम्बन्धि मुद्धामा २० बर्ष कारागार सजाय फैसला भएको केहिबेरमै अभियुक्तले ब्लेडले आफ्नो घाँटी आफै रेटेर आत्महत्याको प्रयास गरेका छन् ।

गुल्मीकै छत्रकोट गाउँपालिका–२ पल्लिकोट घर भई कर्तव्य ज्यान सम्बन्धि मुद्धामा पुर्पक्षका लागि कारागार थुनामा रहेका रुकबहादुर राकशकोटीले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका हुन् ।

घटना हिजो साँझ ५ बजेको भए पनि प्रहरीले आज मात्रै पुष्टी गरेको हो । उनलाई साउन २ गते पसलमा सामान चोरेको भन्दै छिमेकी शेरबहादुर राकाशकोटीलाई घरमै गई कुटपिट गरेका थिए ।

दोश्रो दिन साउन ३ गते शेरबहादुरको मृत्यु भएको थियो । आरोपी पक्षले निजलाई जन्डिसको विरामी भएकोले सोही विरामीले मृत्यु भएको जिकीर गर्दै आएका थिए ।

मृतककी श्रीमतीले आफ्नो श्रीमानको उनकै कुटाईबाट ज्यान गएको भन्दै कर्तब्य ज्यानसम्वन्धि मुद्धा दर्ता गरेपछि प्रहरीले पक्राउ गरी अदालतमा मुद्धा दायर गरेको थियो ।

सोही अनुरुप उनलाई हिजो दिउँसो कारागारबाट पेशीका लागि प्रहरीले अदालतमा ल्याएको थियो । हिजो अदालतमा उनलाई २० बर्ष कैद सजाय सुनाएको थियो ।

मुद्धा फैसला भएर कारागार फर्काइँदै थियो, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले भने– ‘लामो कारवास सजायको फैसलाले विक्षिप्त भएर होला, भित्र छिरेपछि उनले त्यस्तो प्रयास गरे छन् ।’

जिल्ला कारागार प्रमुख उद्धव पन्थीले भने– ‘अदालतबाट प्रहरीले ल्याएर पहिलो चेन गेटभित्र छिराएपछि हतकडी खोलेर दोश्रो गेटतर्फ पठाउँछन् । सोही अनुरुप उनलाई हत्कडी खोलेर दोश्रो गेटतर्फ पठाएर प्रहरी फर्किएका थिए ।

उनले भित्र छिर्नै लाग्दा सुनियोजित रुपमा लुकाएर राखेको ब्लेडले घाँटी चिरेको पाइयो ।’ त्यसदिन बिहान उनले दाह्री फाल्नका लागि नियमअनुसार ब्लेड मागेका थिए । सो ब्लेड नबुझाई लुकाई राखेका थिए ।

दिउँसो मुद्धा फैसलापछि आत्महत्याको योजना बनाई राखेको पाइएको जेलर पन्थीको भनाई छ । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर उत्तम पाच्यले उनी ९९ प्रतिशत खतरामुक्त रहेको बताए ।

उनका अनुसार करिब एक वित्ता (१० सेमी) लामो घाँटी उनले चिरेका थिए । उनको सल्यक्रिया डाक्टर काँशीराम विकले गरेले गरेपछि उनलाई अन्यत्र रिफर गर्न नपरेको डाक्टर पाच्यको भनाई छ ।

यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालसँग सम्पर्क राख्दा उनले घाईते वन्दीलाई अस्पतालमा प्रहरीले सुरक्षा दिई उपचार गराईरहेको बताए ।

प्रतिकृया दिनुहोस