डेढ बर्षमै ३०६ बलात्कारका घटना, ‘घर पनि सुरक्षित छैनौँ’

Mahila ghaite

धनुषा । धनुषाको मिथिला नगरपालिका– ३ मगर टोलकी ११ वर्षीया दुतिया रसाइलीलाई बलात्कारपछि जलाएर मार्ने निरज जर्घा मगर ५ दिनपछि पक्राउ परे ।

आफूलाई ‘हाम्ली डन’ भन्ने मगरबिरुद्व प्रहरीले जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

अहिले प्रदेश २ मा बलात्कारको अपराध सामान्य समाचार जस्तो हुन पुगेको छ । कुनै तरिकाले सार्बजनिक भएका धेरैजसो बलात्कारको घट्नाका अभियुक्त पक्राउन पनि परेका छन् ।

कतिपय पक्राउ समेत परेका छैनन् । घट्ना ढाकछोप गर्न सक्ने बलात्कारीहरु समाजमा खुलेआम घुमिरहेका छन् ।

सिरहाको धनगढीमाई नगरपालिका– १३ की १४ वर्षीया बालिका बलात्कार गर्ने सोही ठाउँका श्रीराम यादव पक्राउ परेका छन् ।

त्यसअघि माघको तेस्रो साता सप्तरीको छिन्नमस्ता गाउँपालिका– ३ महुवामा १८ वर्षीया किशोरीलाई बलात्कार गर्ने प्रभु यादव अझै फरार छन् ।

माघको दोस्रो साता पर्साको वीरगन्ज महानगरपालिका– ११ मा ३ वर्षीया शिशु बलात्कार गर्ने अनिल चौहान र कात्तिक तेस्रो साता महोत्तरीको मनरासिसवा नगरपालिका ६ की १३ बर्षीया बालिका बलात्कार गर्ने खेभन साहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश २ का ८ जिल्लामा गत भदौयता बलात्कार थप तीन घटना सार्वजनिक भए । अधिकांश घट्नामा आफन्त र चिनजानकाले बलात्कार गरेको पाइएको प्रदेश प्रहरीका प्रवक्ता डिएसपी दानबहादुर थापा बताउँछन् ।

प्रदेश २ मा पछिल्लो डेढबर्षमा भएका बलात्कार अपराधको तथ्यांकले महिला तथा बालबालिका घरभित्रै सुरक्षित नरहेको देखाउँछ ।

तथ्यांक अनुसार डेढबर्षमा ३०६ जना महिला तथा बालबालिका बलात्कारका शिकार भएका छन् । यसमध्ये १० बर्षभन्दा कम उमेरका ३२ जना छन् । त्यस्तै, १०–१६ बर्षका १४५ र १६ बर्षमाथिका १२९ जना छन् ।

३०६ मध्ये १४ जना आफन्त र बाँकी सबै चिनजानका पुरुषबाट बलात्कृत भएका छन् । यीमध्ये १८० जना आफ्नै घरमा बलात्काकृत हुनुले महिला तथा बालिकाहरु सुरक्षा स्थिति कस्तो भन्ने देखाउँछ ।

प्रदेश २ मा बलात्कार प्रयासको घट्ना पनि अत्याधिक देखिएको छ । ५ फागुनमा जनकपुरमा १० बर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने भारतीय नागरिक संजय ठाकुर पक्राउ परे ।

गत डेढबर्षमा २२२ महिला र बालिकालाई आफन्त र चिनजानकै पुरुषले बलात्कारको प्रयास गरेको प्रहरीको तथ्यांकले देखाउँछ । यीमध्ये ८२ जनालाई घरभित्रै बलात्कार गर्ने प्रयास भएको थियो छ ।

पछिल्लो समय पारिवारिक–सामाजिक अवस्थामा आएको परिवर्तन र सामाजिक सचेनाका कारण बलात्कारको घट्ना बढेको प्रहरीको ठम्याई छ ।

परिवारमा सामान्यतः चार भन्दा बढी सदस्य हुन्छन् । दिउँसो तीमध्ये कोही काममा, कोही विद्यालय त कोही घरमा हुन्छन् ।

विहान बेलुका घर जम्मा भएका बेला समेत आ–आफ्नै धुनमा सामाजिक संजालमा भुल्छन् । प्रहरीले यो अवस्थालाई पनि अपराधको कारण मानेको छ ।

डीएसपी थापाका अनुसार, विगतमा यस्ता अपराध हुँदा लोकलाजका कारण बढी लुकाइन्थ्यो भने अहिले सचेतनाका कारण बढी सार्वजनिक हुन्छन् ।

उनी भन्छन्, ‘पीडित र पीडकको पारिवारिक–सामाजिक सम्बन्धलाई हेर्दा पनि त्यही देखिन्छ, जुन ज्यादै डरलाग्दो अवस्था हो ।’

प्रतिकृया दिनुहोस