नेकपाको सचिवालय बैठक आज बस्दै, एकताको काम टुंग्याउने

Oli prachanda

काठमाडौं । पार्टी एकताको काम टुंग्याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।

एकता प्रक्रिया टुंगो लगाउन पटकपटक कार्यदलमाथि कार्यदल बनाई गृहकार्य गर्दासमेत प्रक्रिया लम्बिएपछि आवश्यक निर्णयका लागि आज सचिवालय बैठक बस्न लागेको हो ।

कार्यदलबाट टुंगो लाग्न नसकेपछि नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले प्रस्ताव तयार पारी एकता प्रक्रिया टुंग्याउन लागिएको छ । सचिवालय र स्थायी समिति बैठकमा प्रस्तुत गर्न अध्यक्षद्वय ओली र प्रचण्डले एकताको प्रस्ताव तयार पार्न पटकपटक छलफल गरेका थिए ।

दुई अध्यक्षले माघ २६ देखि नै तल्लो तह र जनवर्गीय संगठनको एकता प्रस्ताव तयार पार्न निरन्तर छलफल अघि बढाएका थिए । सचिवालयका केही सदस्यहरु भने कार्यदलकै बहाना बनाएर एकता पर धकेल्ने रणनीति बनाएपछि अध्यक्षद्धय नै एकता प्रक्रिया जतिसक्दो टुंग्याउन लागिपरेका छन् ।

नेकपाले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, ३२ केन्द्रीय विभाग र भूगोलका ७७ जिल्लाको एकता टुंगो लगाउन बाँकी छ ।

त्यसैगरी पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, चार विशेष जिल्ला कमिटी र तिनलाई नेतृत्व गर्ने प्रदेशसरहको विशेष कमिटी, सम्पर्क समन्वय कमिटी, प्रदेश सम्पर्क कमिटी गठन गर्न पनि नेकपाले सकेको छैन ।

प्रवास क्षेत्रको एकीकरण, जनवर्गीय संगठनहरू केन्द्रदेखि स्थानीय तहसम्मको पनि बाँकी रहेको छ । एकता पर धकेलिँदा कार्यकर्तामा उत्साह मर्न थालेको छ ।

प्रतिकृया दिनुहोस