मेहेनतको फल : स्वरोजगार, रोजगार र सम्मान सँगसँगै

Hari senchuri

काठमाडौं । सीपले मानिसलाई धनी बनाउँछ । जोसँग सीप छ, उ नै सबैभन्दा धनी व्यक्ति पनि हो । सीप बिनाको मानिस जिन्दगीमा सधैं अधूरो र अपूरो रहन्छ ।

सीपमा धनी हुन् कालीगढ । कालीगढहरुले न राज्यलाई केही दिए न केही लिए । कालीगढहरुलाई कम्तीमा पनि कर प्रणालीमा ल्याउन सकिन्छ । करमा गए कम्तीमा पनि राज्यबाट सेवा लिन पाउँछन् । यही अभियानमा छन् हरि सिन्चुरी विक ।

जीवन संघर्ष हो, संघर्ष गरे नतिजा पनि राम्रै निस्कन्छ । धादिङ जिल्लाको कल्लेरीमा २०३६ साउन १५ मा जन्मिएका सेन्चुरी सामान्य परिवारका सदस्य हुन् । स्थानीय सरस्वती निमावि डुम्रीचौरबाट कखरा सिकेका सेन्चुरीले जे जति प्रगति गरेका छन्, त्यो आफ्नै मेहनत र संघर्षकै परिणाम हो ।

उनी जातीय रुपमा दलित समुदायका व्यक्ति हुन् । जो बाल्यकालदेखि नै सीप र श्रमसँग मितेरी गाँस्दै आए । त्यही श्रम र सीपले आज उनलाई समाजमा एक प्रतिष्ठित व्यक्तिको रुपमा उभ्याएको छ । मान र सम्मान पनि त्यही श्रम र सीपले नै दिलाएको छ ।

विश्वकर्माको पुख्र्याैली पेसा हो सुनचाँदीको गरगहना बनाउनु । हरीले आफ्ना पिता पुर्खाको पेसालाई निरन्तता दिँदै व्यवसायीक बनाउन लामो सयमदेखि प्रयासरत छन् ।

नेपालमा अरनिकोको पालादेखि नै काष्ठकला र हस्तकलाको आकर्षण हुदैँ आएको छ । उनी नेपाल हस्तकला कालीगढ संघका अध्यक्षसमेत हुन् । उनी ग्लोवल सेन्चुरी प्रालिका सञ्चालक तथा महाप्रबन्धक हुन् ।

उनको पुर्खा नै हस्तकला व्यवसायमा संलग्न हुँदै आए पनि उनीहरूले जीवन बदल्न सकेका थिएनन् । पुर्खौदेखि मजदुरी गरेर खान लगाउन समेत धौधौ हुदैँ आएपछि उनले हस्तकलालाई व्यवसायको रुपमा परिणत गरे । उनले हस्तकलाका सामग्री बनाउने र विदेशमा निर्यात गरिरहेका छन् ।

समाजले उनलाई ‘दलित’ भन्ने गरेको छ । तर, सीपले सफलतातिर लम्किँदै गर्दा उनमा निक्कै आत्मबल बढेको छ । ‘पुर्खादेखि काम गर्दै आए पनि मजदुरीमा मात्र सीमित हुँदा पुस्ता बदलिन सकेन तर मलाई व्यवसाय गरेर मात्र जीवन बदल्न सकिन्छ भन्ने लागेर व्यवसाय सुरु गरेको हुँ’ उनी भन्छन्, ‘अहिले यो व्यवसाय थालेपछिमैले पनि यो समाजका लागि केही गरेछु भन्ने लागेको छ ।’

घट्दो आकर्षण
कालीगढको पेशा आर्थिक रुपमा राम्रो मानिन्छ । तर नयाँ पुस्ता यसमा आकर्षित हुन सकिरहेका छैनन् । नेपालमा हस्तकला व्यववयमा ११ लाखले प्रत्यक्ष रोजगारी पाएका छन् । हस्तकला व्यवसायले वार्षिक १५ अर्ब बराबरको निर्यात गर्दै आएको छ ।

पराम्परागत पेशाभन्दा पनि अहिले अधिकांश युवा वैदेशिक रोजगारीमा आकर्षित हुने गरेका छन् । औंठी, चुरालगायत हस्तकला सामग्रीको नेपालमै उपभोग बढ्दै गएको छ । तर, नेपालमा माग अनुसार उत्पादन हुन सकिरहेको छैन ।

केही बाध्यताले र धेरै रहरले विदेश जाने गरेको पाइएको छ । ‘वैदेशिक रोजगारीमा जानुको साटो नेपालमै व्यवसाय गर्न सके दीर्घकालीन लाभ लिन सकिन्छ’ उनी भन्छन्, ‘स्वदेशमा काम गरेर प्रशस्त आयआर्जन गर्न सकिन्छ । तर, नेपालमै केही गरौं भन्ने भावना नै हराउन थालिसक्यो ।’

‘नयाँ पुस्ता हस्तकलामा आकर्षित देखिँदैन, उनीहरूलाई सीप सिकाउनु हाम्रो कर्तव्य हो’ उनी भन्छन्, ‘युवालाई यो पेशाप्रति मोह जगाउन सकेनौं भने नेपालको अर्थतन्त्रलाई समेत असर पुग्छ ।’

नेपालको कला संस्कृति जगेर्ना तथा पुख्र्यौली पेसालाई निरन्तरता दिएर व्यावसायिक सफलता हात पार्न सकेकोमा उनी आफैं चाँही सन्तुष्ट देखिन्छन् ।

उनी आफैं सुनचाँदीका गहनाका साथै काष्ठकलाका विभिन्न प्रकारका सामग्री बनाउने र बिक्री गर्ने गर्छन् । मेटलक्राफ्ट, मूर्ति, स्टोनक्राप्ट, चित्रकला, बेतबास, पस्मिना, हड्डीका सामग्री उनको पसलमा पाइन्छ । उनले पुर्खौली व्यवसायलाई व्यवसायीकरण गर्न तालिमसमेत चलाउँदै छन् ।

उनले सयौंलाई रोजगारी दिइसकेका छन् । उनको पसलमा अहिले २० जना भन्दा बढीले काम गर्छन् । सिजनका बेला ४० जनाभन्दा पनि बढीले काम गर्ने उनी बताउँछन् । दर्जनौं नेपालीलाई रोजगारीको अवसर दिन सकेकोमा उनी आत्मसन्तुष्ट छन् । सानो कामलाई पनि निरन्तरता दिन सके सफल व्यवसायी बन्न सकिन्छ उदाहरणका पात्र बनेका छन् ।

हातैले बनाउने भएकाले पनि नेपाली हस्तकलामा मौलिकपन हुन्छ । त्यसकारण पनि नेपाली हस्तकलाको माग विदेशमा अधिक मात्रामा आउने गरेको छ । अमेरिका, युरोप लगायतका क्षेत्रमा नेपाली हसतकलाका सामाग्री बिक्री हुन्छ ।

कला, संस्कृति र परम्परा जोगाईराख्न नयाँ पुस्ता अकर्षित हुनुपर्ने र व्यवसायिकतमा जोड दिनुपर्ने अपरिहार्यता भएको उनी बताउँछन् । ‘पुस्ता हस्तान्तरण कम हुदैँ गएको छ’, उनी भन्छन्, ‘यस पेशामा आकर्षित गर्न सबैको ध्यान जान जरुरी छ ।’ आत्मसम्मान र व्यवस्थित नभएका कारण युवा पलायन हुने गरेको उनी बताउँछन् ।

हातमा सम्मान उत्तिकै
व्यवसायमा सफलतासँगै उनले दर्जनौं सम्मान पाएका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाएका छन् । यसलाई उनी आफ्नो मिहिनेत र परि श्रम नै ठान्छन् ।

उनले हालै मात्रै ‘वल्र्ड क्राफट्स काउन्सिल’बाट अन्तर्राष्ट्रिय स्तरको सम्मान पाएका छन् । कुबेतबाट पाएको उक्त सम्मान उनको गुणस्तरीय हस्तकला सामाग्रीकै कारण थियो । उनी सन् २००८ मा सर्वोत्कृष्ट उद्यमीलाई प्रधान गरिने ‘स्माल इन्टरप्राइजेज एक्सलेन्स अवार्ड’ र २०१० मा तेस्रो ‘स्माल इन्टरप्राइजेज एक्सलेन्स अवार्ड’ बाट सम्मानित भएका थिए ।

अन्नपूर्ण प्रावि सम्मान, अम्बेडकर सम्मान पदक अन्तर्राष्ट्रिय पुरस्कार, नेपाल दलित संघ राष्ट्रिय दलित सदनबाट सम्मान लगायतका पुरस्कार पाएका छन् ।

सामाजिक कार्यमा सक्रियता
हरि सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय छन् । उनी सामाजिक राजनीतिक रूपमा पछाडि परेका दलित समुदायको हकहित र सहयोगमा पनि उतिकै मात्रामा सक्रिय छन् । उनले दलित बस्तीमा सञ्चालित अन्नपूर्ण प्राविलाई जमिन दान गरेका छन् । सो विद्यालयमा विपन्न वर्गका दलित विद्यार्थीले अध्ययन गरिरहेका छन् । विशेष गरी दलित समुदायका बालबच्चा पढ्न पाउने बिद्यालयलाई आफु दलित समुदायकै व्यक्ति भएर सहयोग गर्न पाएकोमा निकै खुसी व्यक्त गर्छन् ।

सामाजिक काम गर्न पाउँदा आफूलाई आनन्द आउने उनी बताउँछन् । मानिस सफल हुन त्याग तपस्या र इमान्दारीको भूमिका हुने उनको बुझाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

यो बिधी र तरिकाबाट अध्ययन गर्दै पहिलो प्रयासमै शाखा अधिकृतमा नाम निकाले

Puja kc

काठमाडौं । पहिलो प्रयासमै शाखा अधिकृतमा नाम निकाल्न सफल पूजा खत्री अहिले सर्बोच्च अदालतको उपसचिव ...