गाउँमा बसाइँ आउनेलाई ५ लाख रुपैयाँसम्म अनुदान दिने

Money

तेह्रथुम । अनेक विकल्प खोज्दै गाउँ छाड्नेहरू बढेपछि बस्ती पातलिँदै टाढा–टाढा फाट्टफुट्ट मात्र घरहरु रहन थाले । नशक्ति बाहिरिँदै गएपछि न काम गर्ने मान्छे भेटिए, न कुनै उद्यम व्यवसाय गर्नेहरू बाँकी रहे ।

यस्तै स्थितिमा गाउँको विकास कसरी होला र ? त्यसैले छथर गाउँपालिकाले लक्ष्य तय गर्यो १६ हजार ७ सय १५ जनसंख्यालाई ५ वर्षभित्र बढाएर २५ हजार पुर्याउने ।

‘तत्कालीन ६ गाविस गाभेर बनाइएको छथरका बस्तीहरू रित्तिँदै जान थालेपछि जुक्ति निकाल्यौं,’ गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले भने, ‘बसाइँ आउनेलाई व्यवसाय गर्ने प्रस्तावनाका आधारमा १ लाखदेखि ५ लाख रुपैयाँसम्म अनुदान दिने ।’

गाउँपालिकाले यो निर्णय गरेपछि बसाइँ आउने र अनुदान लिन चाहनेको निवेदन पर्न थालेका छन् ।

‘प्रारम्भिक चरणमा दर्जन परिवारबाट निवेदन आएको छ,’ उनले भने, ‘व्यवसायको प्रस्ताव मूल्यांकन गरेर अनुदान दिनेछौं ।’ त्यसका लागि बसाइँ सरी आएको प्रमाणपत्रका साथमा व्यावसायिक योजना पेस गर्नुपर्नेछ ।

व्यवसायको प्रकृति र विस्तारका आधारमा किस्ताबन्दी रूपमा अनुदान रकम पाउने गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

कृषि व्यवसाय गर्न चाहनेलाई पहिलो प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

‘काम गर्ने र उद्यम व्यवसाय गर्ने जनशक्ति बाहिरिएपछि गाउँपालिकाको विकास नहुने सोचेर यसो गरेका हौं,’ अध्यक्ष लिम्बूले भने, ‘पातलो बस्तीमा सडक, विद्युत, खानेपानी, सञ्चार, स्वास्थ्य, शिक्षालगायतका पूर्वाधार निर्माण गर्दा लागत बढी पर्ने र त्यसबाट फाइदा पाउने जनशक्ति एकदमै थोरै हुने भएकाले पनि बस्ती बाक्लो बनाउन चाहेका हौं ।’

गाउँपालिकाको २०७५/०७६ को नीति तथा कार्यक्रममै यो व्यवस्था समेटिएको छ । पहिलो वर्ष १० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

बसाइँ सरी आउनेको संख्या बढे रकम पनि वृद्धि गरिने गाउँपालिकाले जनाएको छ । गत साउन १ यता बसाइँ सरी आउनेले यो सुविधा पाउने छन् ।

प्रतिकृया दिनुहोस