भीमफेदीमा चुनढुंगा उत्खननले मानव बस्तीको उठिबास हुने स्थिति

Utkhanan dhunga

हेटौँडा । विभिन्न सिमेन्ट उद्योगलाई केन्द्रीय सरकारले भीमफेदी गाउँपालिका क्षेत्रमा चुनढुङ्गा उत्खननका लागि दिएको अनुमतिले त्यहाँको मानव बस्ती जोखिममा पर्ने गुनासो गरिएको छ ।

सिमेन्ट उद्योगका लागि चाहिने ढुङ्गा उत्खननले भीमफेदीको जनता उठिबास हुने स्थिति भएको भीमफेदी गाउँपालिकाका जनप्रतिनिधिले बताएका हुन् ।

भीमफेदीमा हेटौँडा सिमेन्ट उद्योग, शालिमार सिमेन्ट उद्योग, ऋद्धिसिद्धी सिमेन्ट उद्योग र शिवम् सिमेन्ट उद्योगलगायतका उद्योगलाई ढुङ्गा खानीका लागि दिएको अनुमति खारेज गर्न ३ नम्बरका मुख्यमन्त्रीलाई ध्यानाकर्षणसमेत गराइएको छ ।

सो गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले यस गाउँपालिका क्षेत्रमा सञ्चालित सिमेन्ट ढुङ्गा खानी कार्य बन्द गरिनुपर्छ र थप नयाँलाई अनुमतिपत्र दिन नहुने माघ गर्नुभएको छ । त्यसको लागि स्पष्ट मापदण्ड बनाउनुपर्नेमा पनि उहाँको माघ रहेको छ ।

शालिमार सिमेन्ट उद्योगले सोही गाउँपालिका–२ मा, ऋद्धिसिद्धीले वडा ३ मा र शिवम्ले वडा ५ मा चुनढुङ्गा उत्खनन निरन्तर गरिरहेकोे बुझिएको छ ।

उक्त चार वटा सिमेन्ट उद्योगले एउटै गाउँपालिकाको विभिन्न वडामा चुनढुङ्गा उत्खनन गर्दा वडा नं १ देखि ६ सम्मको मानव बस्ती जोखिममा पर्ने स्थानीय जीवन लामाले बताए ।

गााउँपालिकाका अध्यक्ष हिदम लामाले केन्द्र सरकारबाट यस गाउँपालिकालाई उद्योगको चुनढुङ्गा उत्खननबारे जानकारी नभएको बताए ।

उता सम्बन्धित सिमेन्ट उद्योगका सञ्चालकले सरकारको अनुमतिबाट सो गाउँपालिकामा काम गरिरहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस