कञ्चनपुरमा वर्षाका कारण ६ करोड मूल्य बराबरको इँटा नोक्सान

Itta

कञ्चनपुर । लगातारको वर्षाका कारण कञ्चनपुरमा करिब ६ करोड मूल्य बराबरको इँटा नोक्सान भएको छ ।

बेमौसमी वर्षाका कारण जिल्लामा करिब ६ करोड मूल्य बराबरको इँटा नोक्सान भएको महाकाली इँटा तथा टायल उद्योग व्यवसायी संघले जनाएको छ ।

वर्षातले तयार पार्दै गरेका र पोल्नका लागि राखेका काँचो इँटा गलेर नष्ट भएका छन् । पोल्न तयारीमा राखेका बेला वर्षा हुँदा २० लाख गोटा इट्टा नोक्सान भएको बजरंगी इँटा तथा टायल उद्योगका संचालक दानबहादुर रावलले बताए ।

उनले दैनिक एकलाख २० हजार इँटा उत्पादन हुने गरेको बताउँदै पोल्न तयारीमा रहेका र थुपारेर राखेका काँचो इँटा मेत गलेर नष्ट भएको बताए ।

वर्षातले काम गर्न नसक्दा मजदूरको पारिश्रमिक र समय पनि नोक्सान भएको उनको भनाई छ । ‘पानीले इट्टा नोक्सान त गर्यो नै समय पनि खेर गयो’, उनले भने ‘समयमा उत्पादन गर्न नसक्दा अब इँटा पनि अभाव हुन्छ ।’

बेमौसमी पानीले इट्टा नोक्सान भएपछि इँटाको आपूर्ति कम हुने र मूल्य समेत बृद्धि हुने देखिएको छ । ठूला इँटा उद्योगमा १५ देखि २० लाख र साना उद्योगमा १० लाख इँटा नोक्सान भएको व्यावसायीको भनाइ छ ।

वर्षातले करोडौँको इँटा नोक्सान भएकाले प्रति गोटा इँटामा कम्तीमा १ देखि २ रुपैयाँसम्म मूल्य वृद्धि हुन सक्ने महाकाली इँटा तथा टायल उद्योग व्यवसायी संघका अध्यक्ष दानबहादुर बुढा बताए । ‘यो पानीले ठूलो क्षति गर्यो’, उनले भने ‘यसले मार्केटमा इट्टाको मूल्य पनि बढ्छ ।’

पानीका कारण इँटालाई भट्टीमा पोलेर प्रयोगयोग्य बनाउन ढिलो हुने भएकाले मागअनुसारको पूर्ति गर्न नसकिने उनको भनाइ छ ।

कञ्चनपुरमा ४० वटा इँटा उद्योग दर्ता छन् । यसअघि, महेन्द्रनगर बजार क्षेत्रमा सरदर प्रति इँटाको मूल्य १२ रुपैयाँ थियो भने बेलौरी, पूनर्वास लगायत दक्षिणी क्षेत्रमा साढे १० रुपैयाँ थियो ।

अब यसको मूल्य बढेर १४ रुपैयाँसम्म पुग्न सक्ने व्यवसायीहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस