कर्णालीमा लगातार पाँचौ पटकसम्म भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त

Himpaat

डोल्पा । कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।

गत पुस र माघको अहिलेसम्म लगातार पाँचौ पटकसम्म भारी हिमपात भएको हो । चौथो पटक परेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ पर्न थालेपछि कर्णालीको जनजीवन अस्तव्यस्त भएको छ ।

केही सयम अगाडि रोकिएको हिमपात पुनः बुधबारदेखि शुरुभएर डोल्पा सदरमुकाम दुनै, हुम्लाको सिमीकोट, जुम्लाको खलङ्गा, मुगुको गमगडी बजार सेताम्य भएका छन् भने आसपासका डाँडापाखा तथा जङ्गल पनि हिउँले ढाकिएका छन् ।

कर्णाली सदरमुकामदेखि उत्तरी क्षेत्रमा पर्ने उच्च हिमाली भूभागमा तीनदेखि चार फिटसम्म हिउँ जमेको छ ।

लगातार परेको हिमपातका कारण उपल्लो डोल्पामा चारदेखि पाँच फिटसम्म हिँउ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताए ।

हिमपातका कारण सञ्चारका साधन अवरुद्ध भएपछि उपल्लो डोल्पामा पर्ने धो, साल्दाङ, भिजेर, छाका, मुकोट, फोक्सुन्डोलगायत बस्ती सदरमुकामबाट सम्पर्क्विहीन भएको उनको भनाइ थियो ।

सदरमुकाम दुनै, जुफाल, त्रिपुराकोटमा दुई फिटसम्म हिउँ जमेको र हिमपात अझै जारी रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

बाक्लो हिउँ जमेका कारण हिमपहिरोको जोखिम उत्तिकै बढेको छ । शुक्रबार दिउँसो मात्रै हिमपहिरो खसेर थुनिएको सुलीगाड खोला विस्तारै सञ्चालन भएको शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।

हिमपातका कारण आवतजावत गर्न कठिन भएकाले अन्य स्थानभन्दा उपल्लो डोल्पावासीमा समस्या बल्झिएको छ ।

त्यस्तै रुकुम, जाजरकोटका पश्चिमी क्षेत्रमा समेत भारी हिमपात भएको छ भने हिउँले त्यहाँको जनजीवन पनि कष्टकर बनेको छ ।

अघिल्ला वर्षहरुमा पुस माघमा मुस्किलले एक दुई पटक हिमपात हुने गरे पनि यस वर्ष लागातारको हिमपातले स्थानीयवासी त्रस्त भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का दुर्गाप्रसाद देवकोटाले बताए ।

‘हिजो राति शुरु भएको हिमपात अहिले पनि जारी छ, भिरालो जमीनमा बस्ती भएकाले ढुङ्गा तथा पहिरो खस्छ कि भन्ने डरले गाउँवासी नै डराएका छन’ उनले भने ।

पटक–पटकको हिमपातले लगाइएको अन्नबाली उत्पादनका लागि राम्रो हुने भए पनि बड्दो चिसोका कारण दैनिक हुने कामकाजसमेत ठप्प हुनाका साथै घरआँगनमै बाक्लो हिउँ जमेकाले भित्र÷बाहिर गर्न, धारा–पँधेरो पुगेर पानी ल्याउन र शौचालय जानसमेत समस्या भएको देवकोटाको भनाइ थियो ।

वर्षात्सँगैको हिमपातका कारण गाईवस्तु चर्ने डाँडाकाँडा हिँउले छोपिएको र हिउँदको समयका लागि भण्डारण गरेर राखिएका घाँसपातसमेत सकिएको ठूलीभेरी नगरपालिका निवासी अमर कठायतले बताए ।

शुक्रबार रातिदेखि शुरु भएको हिमपात अहिलेसम्म रोकिएको छैन । लगातारको हिमपातका कारण कर्णालीको तापक्रम शुन्यभन्दा कम भएकाले डोल्पालीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।

 

प्रतिकृया दिनुहोस