विद्युत प्राधिकरणद्धारा निशाको परिवारलाई १० लाख क्षतिपूर्ति

Money

काठमाडौं । विद्युत प्राधिकरणले बुधबार दिउँसो करेन्ट लागेर ज्यान गुमाएकी निशा भण्डारीको परिवारलाई १० लाख क्षतिपूर्ति दिने भएको छ ।

हाईटेन्सन लाईनमा परी ज्यान गुमाएकी भण्डारीका आफन्त र प्राधिकरणबीचको वार्तामा सो सहमति भएको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय प्यूठानमा भएको सर्वपक्षिय छलफलपछि मृतक परिवारलाई न्यूनतम ५ लाख क्षतिपूर्तिको लागि सम्वन्धित निकायमा पहल गर्ने, मृतकका ३ वर्षे बालकको पालनपोषण तथा उचित शिक्षादिक्षाका लागि प्यूठान प्राधिकरणका प्रमुख तथा कर्मचारीहरुले आर्थिक सहयोग बापत ५ लाख पीडित परिवारलाई उपलब्ध गराउने सहमति भएको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सहजीकरण गरेको वार्तामा पीडित परिवार, प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपति, उपप्रमुख शान्ता आर्चाय, वडा अध्यक्षहरु, जिल्लास्थित राजनैतिक दलका प्रमुख नेताको उपस्थितीमा सहमति गरिएको हो ।

प्यूठान नगरपालिका वडा नं.९ स्थित सिमलगैराका २२ वर्षिय भण्डारीको बाँसको घाँस काट्ने क्रममा उक्त बाँसले हाईटेन्सन लाईनमा छुँदा करेण्ट प्रवाह भई ज्यान गएको थियो ।

केही दिन अघि मात्र स्थानीयले उक्त बाँसको रुख काट्न वा हटाउन प्राधिकरणका कर्मचारीहरुलाई आग्रह गर्दा समेत कर्मचारीहरुले वास्ता नगर्दा भण्डारीको अकालमा ज्यान गएको स्थानीयहरुले बताए ।

घटनापछि प्राधिकरणको भुमिकाप्रति स्थानीय जनप्रतिनिधिसमेत असन्तुष्ट भएका छन् ।

 

प्रतिकृया दिनुहोस