१८ वर्ष पुग्यो : फुलराम गोठमा पशुसरह सिक्रीले बाँधिएको

Sanglo

बर्दिया । बाँसगढी नपा–४ शङ्खरियाका ४० वर्षीय फुलराम थारू गोठमा गाईगोरुसँगै नजिकै बाँधिएर बस्न थालेको १८ वर्ष पुगिसक्यो ।

यो कुरा सुन्दा विश्वास नलाग्ला तर त्यही सत्य हो । आफ्नै घर छेउमा रहेको गोठमा उनी १८ वर्षदेखि खुट्टामा सिक्रीले बाँधिएर पशुसरह बस्न बाध्य छन् ।

घरका सदस्यले उनलाई रहरले बाँधेर राखेको भने होइनन् । १८ वर्ष अघिसम्म उनी अन्य सामान्य मानिससरह दैनिकी कार्य गर्दै जीवन बाँचीरहेका थिए तर अचानक उनको बानी व्यवहारमा सामान्यभन्दा फरक आनीबानी देखिन थाल्यो ।

एक शुरमा हिँड्न थाले । कसैले बोलाइ दिए वा चलाइ दिए नजिक भेट्टाएको जुनकुनै हतियारले आक्रमण गर्न थालेपछि भने परिवारका सदस्यलाई समस्या पर्न थालेपछि बाँधेर राख्नुको विकल्प नरहेको बुबा आइतबारी थारूले बताए ।

घरकै आफ्नै दाजुलाई लाठ्ठीले हानेर बेहोस बनाएका थिए । आफैँले जन्माएको छोरालाई निधारमा हानेर घाइते बनाए । उनको निधारमा लागेको घाउमा टाँका लगाउन परेको थियो । त्यसपछि झनै फुलरामलाई गोठमै हल गोरुसँगै बाँधिएर बस्न परेको छ ।

गोठको सबैतिर खुला छ । एकातिरको खम्बामा सिक्रीले बाँधेर उनको खुट्टा पनि बाँधिएको छ । बस्न र सुत्नका लागि छेउमै दुईवटा काठको पटरा राखिएको छ । उनी उठेर हिँड्न परेको खण्डमा आधा मिटर वरिपरि मात्रै हिँड्न सक्छन् । सुत्न पर छेउमै राखिएको दुई काठको पटराकै सहारा लिनुको विकल्प छैन ।

फुलराम जो कोहीले गरेको कुराकानी बुझ्छन् । कसैले उनीसँग कुरा गर्न खोजे पनि उनी कुनै प्रतिक्रिया दिँदैनन् । भोक लागेको अवस्थामा आमा भोग लाग्यो खाना ल्याउँ भन्छन् । आफू खान मन लागेको खानेकुरा माग्छन् । आफू मात्रै खान्छौँ । मलाई दिँदैनन् भन्दै रिसाउँछन् ।
बाँधिएको ठाउँमा उनको नजिक गएर सरसफाइ गर्न नसक्ने अवस्था भएकाले समस्या भएको आमा पार्वती थारूले बताए ।

फुलरामलाई मानसिक समस्या देखिन थाले पनि उनको परिवारले शुरुआतमा उपचार पनि गराएका हुन् ।

आर्थिक अवस्था कमजोर भएका कारण नेपालगञ्जसम्म लगेर मात्र उपचार गर्नसकेको बुबा आइतबारी थारूले बताए । सम्पत्तिको नाममा सुकुम्वासी आयोगले दिएको पाँच कट्ठा जमीन र बस्नलाई सानो छाप्रा मात्र छ ।

सबै बेची उपचारमा लगाउँ भने परिवार पाल्न समस्या हुने भएकाले जे होला सहन पर्ला भन्दै छोरालाई बाँधेर राख्नुको विकल्प नभएको दुखेसो बाबु आइतवारीले पोखे ।


बाँसगढी नपा–४ का वडाध्यक्ष रजमान थारूले फुलराम मानसिक रोगी रहेको र उनको अवस्था हेरि अपाङ्गताको रातो परिचयपत्र बनाउनका लागि सहयोगबाहेक केही पनि नगरेको र गर्न पनि नसकिने बताए ।

प्रतिकृया दिनुहोस