सांसद टोली पुग्यो बाजुरामा छाउप्रथा विषयमा अध्ययन गर्न

Chhau

बाजुरा । सामाजिक समस्याका रूपमा रहेको छाउप्रथा विषयमा अध्ययन गर्न सङ्घीय संसद्को टोली बाजुरामा आएको छ । सांसद गणेश ठगुन्नाको संयोजकत्वमा छ सांसदको टोली आज बाजुरा आएको हो ।

गत पुस २५ गते राति जिल्लाको बूढीनन्दा नगरपालिका–९ अगाउपानीमा छाउगोठमा तीन आमा छोराको मृत्यु भएसँगै चौतर्फी आलोचनाको विषय बनेपछि संसदीय टोली बाजुरा पुगेको हो । टोलीमा बाजुरा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद लालबहादुर थापा पनि छन् ।

टोलीले आज सदरमुकाम मार्तडीस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा अन्तरक्रिया गर्ने भएको छ ।

खुला बहसका रूपमा गरिने अन्तरक्रियामा छाउप्रथाको अन्त्यका लागि गर्नुपर्ने प्रयासका बारेमा सबै पक्षबीच छलफल हुने प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिएका छन् ।

छाउगोठ भत्काउने अभियानसँगै मनको पुरातन सोच हटाउनेतर्फ सरकार गम्भीर हुनुपर्ने र राज्यले सचेतनाका लागि लगानी बढाउनुपर्ने विषयमा छलफल केन्द्रित सांसद थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस