लापरवाहीको नमुना : नगरपालिकाको बेवास्ताका कारण मरे सयौं गाई

Gai mare

कैलाली । सुदूरपश्चिमका तराई क्षेत्र छाडा पशु छाडिने क्षेत्रमा पर्छ । सडकमै छाडा पशु छाडिदा दुर्घटना पनि उत्तिकै हुने गरेको छ । त्यसको व्यवस्थापनका लागि स्थानीय निकालयले त्यत्तिनै खर्च गर्ने गरेको छ ।

तर, कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौं गाई मृत फेला परेका छन् । नगरक्षेत्रभित्र छाडा रुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको पशु चौपायालाई खानाका लागि आहार र पिउनका लागि पानी र बसोबासको उचित व्यवस्था नहुँदा मर्दै गएका छन् ।

यहाँ गाईबस्तुलाई पिउने पानी नभएको, खानेकुराको अभाव भएको र चिसोको महीना खुला आकाशमुनि हुँदा पनि गाईबस्तु मरेका हुन् । शुरुमा करीब तीन हजारको सङ्ख्यामा गाईबस्तु रहे पनि अहिले जम्मा १ सय ५० मात्र छन् ।

नगरपालिकाले ठूलो रकम खर्च गरे पनि पशु चौपायालाई चरीचरन र पानीको उचित व्यवस्था गरिएको छैन । नगरपालिका र वडा कार्यालयलाई जानकारी गराउँदा पनि चासो नदिएको हेरालु भोजबहादुर चौधरी बताउँछन् । आफूहरूलाई पनि बस्नका लागि उचित व्यवस्था नभएकाले प्लाष्टिकको छानाको भरमा रात काट्नुपर्ने बाध्यता रहेको उनको गुनासो थियो ।

नगरपालिकाभित्र रहेका छाडा पशु चौपायालाई व्यवस्थापन गर्ने भन्दै घोडाघोडी नगरपालिकाले गत साउन महीनामा वडा नं ७ का अध्यक्ष धनबहादुर बमको संयोजकत्वमा छाडा पशुचौपाया व्यवस्थापन समिति गठन गरी ३० लाख उपलब्ध गराएकामा हालसम्म १५ लाख भन्दाबढी खर्च भइसकेको नगरपालिका वडा नं ८ अध्यक्ष तथा छाडा पशु चौपाया व्यवस्थापन समितिका सदस्य भीम बोगटीले बताउँछन् ।

नगरप्रमुख ममताप्रसाद चौधरीले व्यवस्थापन गरिएका ठाउँमा पशु मर्न थालेको जानकारी पाएको र ती पशुचौपाया व्यवस्थापनमा केही कमजोरी भएका कारण मरेकाले आफूले नैतिक जिम्मेवारी लिने बताउँदै आफूहरुले जति सकिन्छ गरे पनि नसक्ने स्थिति आएको स्वीकार्छन् ।

प्रतिकृया दिनुहोस