के थियो अल कुनुनले गरेको ट्वीट ? जसले विश्व हल्लायो

Rafaha mahamad

काठमाडौं । उनी परिवारसँग कुवेत भ्रमणमा थिइन् जब रहफ मोहम्मद अल कुनुनले अचानक ब्याङ्ककको उडानबाट भाग्ने निर्णय गरिन् ।

उनको खास उद्देश्यचाहिँ ब्याङ्ककबाट अस्ट्रेलियाको उडान समात्ने थियो । उनीसँग अस्ट्रेलियाको भीसा पनि थियो । तर ब्याङ्ककको सुवर्णभूमि विमानस्थलमा उनको पासपोर्ट एक साउदी कूटनीतिज्ञले खोसिदिए । उनी अलपत्र परिन् ।

तर उनले त्यसपछि त्यहाँ जे गरिन् त्यसले विश्वभर खैलाबैला भयो । र, अन्ततः आफ्नो देश र परिवार त्यागेर भागेकी साउदी युवतीलाई क्यानडाले शरण प्रदान गरेको छ ।

इस्लाम त्यागेका कारण आफूलाई आफन्तहरूले नै मारिदिने डर भएको रहफले बताएकी थिइन् । भागेर ब्याङ्कक विमानस्थलमा पुगेपछि सामाजिक सञ्जालद्वारा आफ्नो अवस्था प्रकट गरेकी रहफका निम्ति विश्वभरबाट सहानुभूति व्यक्त भएका थिए ।

रहफको तर्फबाट संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले पेश गरेको शरणार्थीको आवेदन स्वीकार्दा आफ्नो सरकारलाई खुशी लागेको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका छन् ।

रहफले ब्याङ्कक विमानस्थलमा होटेलभित्र आफूलाई बन्द गरि लगातार ट्विटरमार्फत आफ्नो अवस्था विश्वलाई अवगत गराएकी थिइन् । त्यसले अन्तर्राष्ट्रिय ध्यान आकृष्ट गरायो । साउदी अरेबियामा इस्लाम त्याग्नु भनेको मृत्युदण्डसमेत दिइनसक्ने अपराध मानिन्छ ।

थाई अध्यागमन अधिकारीहरू उनलाई कुवेत पठाउने प्रयास गरेका थिए । आफूले इस्लाम धर्म परित्याग गरेको हुनाले बलपूर्वक साउदी अरेबिया फर्काएर परिवारले आफ्नो हत्या गरिदिन सक्ने त्रास भएको रहाफ मोहम्मद अल–कुकुनले बताएकी छन् । महिलालाई समान अवसर नदिइने भएकाले धर्म परित्याग गरेको उनको भनाइ छ ।

उनको स्थिति र त्यसले खिचेको ध्यानका माझ राष्ट्रसंघीय निकायले उनलाई एक वैध शरणार्थीको मान्यता दिएको थियो ।उक्त निकायले क्यानडाको निर्णयको स्वागत गरेको छ ।

क्यानडा तथा साउदी अरेबियाबीचको सम्बन्ध गत अगस्टमा नाटकीय ढङ्गबाट बिग्रिएको थियो जब क्यानडाले साउदी जेलमा राखिएका महिला अधिकारवादीहरूलाई रिहा गरिदिन माग गर्‍यो ।

प्रतिकृया दिनुहोस