यो त हजम अलि भएन नि ! होइन र ?

Thakur baral

यो तीतो सत्य हो कि कुनै मानिसको मृत्यु भयो भने सद्गत गर्न तीनै मृतकको परिवारले बन्दोवस्त गरी तयार पारेको ट्रक तथा बसमा चडेर हामी मलामी जान्छौं । मृतककै परिवारका सदस्यको खर्चमा तयार पारेको मिठाइ, पानीका बोतल र मिस्री तथा कोक फेन्टा बोकेर हामी भरसक शव दाहको शुरुवात नै नभई मृतकका परिवारलाई मसान घाटमै छोडेर तमोर किनारका पसलतर्फ हिड्छौं ।

बेलैमा सार्वजनिक तथा निजी वाहनहरुमा आ–आफ्ना कुटीतर्फ फर्कन्छौं । यस्तो दृष्य देख्दा आफैंलाई लाज लाग्छ । यो मलाई मात्र होइन, धेरैजसो मानिसहरुलाई त्यस्तै हीनताबोध हुँदो रहेछ । यसमा केही सुधार गर्नुपर्छ भन्ने पनि लाग्दो रहेछ । तर प्रश्न त विरालाको घाँटीमा कस्ले घण्टी बाँध्ने भन्ने पो रहेछ ।

केही दिनअघि एक जना मेरा मित्रको घरमा मरिमराउँ प¥यो । तीनका घरमा यति धेरै स्याउ र फलफूल शुभेच्छुकहरुले ल्याइदिए कि ती फलफूल कुहेर रछ्यानमा फ्याल्नुपर्ने भयो । यसरी फलफूल ल्याइदिनुको सट्टा त्यसबापत लाग्ने खर्च शुभेच्छुकहरुले नगदमा नै सम्बन्धित परिवारलाई दिएको भए त्यस परिवारलाई वास्तवमा नै पो राहत पुग्थ्यो कि ? उक्त परिवारमा झण्डै दुई सय जनाले फलफूल, मिश्री, चिनी, मटर जस्ता सामान लिएर पुगे । त्यसका लागि प्रत्येकले न्युनतम २ सय खर्च त पक्कै गरे होला ।

त्यसरी शुभेच्छुकहरुले त्यस परिवारका लागि भनेर ४० हजार रुपैयाँ खर्च गरेको पाइयो । शुभेच्छुकहरुले नगदमा नै ४० हजार रुपैयाँ दिएका भए कम्तिमा पनि मृतकका परिवारलाई मलामी ओसार्न प्रयोग गरिएको खर्च त शुभेच्छुकले दिएको रकमले टर्थ्यो नि, जो स्वयं मलामीहरु आफैँ चढेर गएका ट्रक तथा बसको वास्तविक खर्च थियो ।

पछिल्लो पुस्ताले यस्ता कुरामा कहिले पनि सोचिरहेको पाएनौं । हाम्रा पुर्खाले त राम्रै चलन चलाएका रहेछन् । मलामी जाँदा उनीहरु हिँडेरै जान्थे, सबै गाउँले मिलेर मलामीका लागि खाजा जुटाउँथे र त्यस दिनपछि मानिसहरु जुठो परेको घरमा दाना पानी खानुहुँदैन भन्थे । किनकी उनीहरु त्यस परिवारमा कुनै पनि प्रकारले आफ्नो बोझ नपरोस् भन्ने सोच्दा रहेछन् । हामी अहिले आफूले किनेर पुर्याइदिएको फलफूल धक नमानी खाइरहेका हुन्छौं ।

यस्ता कुरा झिना मसिना नै हुन सक्छन् र समाजमा प्रचलित र स्थापित परम्परा, चलन विरुद्धका कुरा पनि हुन सक्छन । तर हामीले यस्ता कुराले समाजमा परिरहेको पीडा र अतिरिक्त खर्चका बारेमा कहिले पनि सोच्ने प्रयत्न गरेनौं कि ? मृतकका परिवारका घरमा अनावश्यक फलफूल तथा वस्तु थुपारिदिनुको सट्टा बजारमा किनिने फलफुलको मुल्य बराबर नगद दिन सकिन्छ । यस्तो गर्दा पीडित परिवारमा ऋण माथि ऋण थुपारेर पुर्पुरोमा हात राख्नुपर्ने अवस्थामा हुने थिएन ।

मृतकको परिवारले त्यस्तो रुपैयाँ खर्च गर्दिनँ हामी नै सक्षम छौं भन्ने चाहना राख्दछन् भने त्यस्तो परिवारले सो संकलित रुपैयाँ कुनै कलेज, मन्दिर, स्कूल तथा गरीव परिवार तथा अरु पीडित परिवारको राहतका लागि दिन सक्दछ । अझ भनौं त्यस्तो रकमबाट मृतकका परिवारले अक्षयकोषको स्थापना गरी वर्षै पिच्छे कुनै असल काम गर्ने कलाकार, नाटककार, पत्रकार, साहित्यकार, किसान, मजदुरको लागि पुरस्कार राशी हुने घोषणा गर्न सक्छन् ।

यसले काम गर्नेहरुलाई प्रोत्साहन मिल्छ । मृतकका नाममा त्यस्तो पुरस्कार राशी राख्दा हरेक वर्ष मृतकको आत्माको चीर शान्तिका लागि सभा पनि आयोजना हुने हुँदा सधैं सम्झना पनि भइरहन्छ । अब यस्तो काम अरुबाट होइन, आफैंबाट सुरु गरौं ।

हाम्रा परम्पराहरु सबै राम्रा र वैज्ञानिक छन् भनेर मख्ख पर्ने, नयाँ परम्परा निर्माण गर्दा पनि आफ्नो स्वार्थ र सजिलोका लागि मात्र सोचेर निर्माण गर्न थाल्यौं भने त्यसै परम्पराले हामीलाई खान्छ । दास प्रथा र सति प्रथा जस्ता प्रथा र परम्पराले पनि त कानुनी मान्यता समेत पाएका थिए । तीनलाई समाजले विना अवरोध स्वीकारेको थियो । तर त्यही कालान्तरमा समाजमा खराव भए । अफाप सिद्ध भए । यसरी नै हामीले अहिले निर्माण गरिरहेका परम्पराले वास्तवमा नै समाजमा पीडामाथि पीडा थपिरहेको पाइन्छ ।

मलामी जाँदैमा पीडित परिवारलाई समवेदना प्रकट गरेको मान्नु मलामीको संख्या बढाउने मूर्खता मात्र हुन्छ । पीडित परिवारलाई हाम्रो शुभेच्छाले सही अर्थमा नै राहत मिल्नुपर्याे । अहिलेको प्रचलनले त मृतकको परिवारमा पीडामाथि पीडा नै पो थपिएको हो कि ? अधिकाँस मानिसको मनमा यही छ । तर बाहिर प्रकट गर्न कसैले समाज विरोधी भनि देलान् कि, एक्लै पो परिने हो कि ? भन्ने डरले मात्र काम गरिरहेको पाइएको छ । यसलाई बेलैमा सच्याउनु जरुरी छ ।

समाजमा कोही मानिस बिरामी परेर घरमा सुतिरहेको छ वा अस्पतालको शयन कक्षमा छ । त्यतिबेला पनि हामी यही पारा दोहोर्याइरहेको हुन्छौं । सुगरको बिरामी छ भने हामी सुगरका बिरामीले खानै नहुने फलफूल लिएर बिरामी समक्ष पुग्छौं । वाथको रोगी छ वाथ रोगीले छुनै नहुने चीज वस्तु बोकेर भेट्न पुग्छौं र आफूले बिरामीलाई भेटेर सदभाव र सहानुभूति जनाएको स्वाङ गर्छाैं । यो त अलि हजम भएन नि होइन र ? एकातिर बिरामीको परिवारलाई आर्थिक संकटले गाँजिरहेको हुन्छ । त्यस परिवारलाई आर्थिक रुपमा सहयोग गर्नुपर्याे भने हाम्रो दाँतबाट पसिना आइरहेको हुन्छ ।

अर्काेतिर मन्दिर, चौतारा तथा त्यस्तै अन्य कामका लागि पैसा झिक्नु पर्दा धक फुकाएर नै आफ्नो थैली खोल्छौं । त्यसमा पनि बेलुकीको शुरापानका लागि त सर्वस्व बिर्सिएर हौसिँदै दान गर्छाैं । त्यो सकसमा परेको बिरामी तथा उनका परिवारले वा मृतकका परिवारले अर्काको पैसा लिदैनन् भनेर पन्सिन्छौं । अनि धर्म परिवर्तन गरियो भन्छौं । हाम्रो धर्म र संस्कृतिले केही दिन सकेन । मानिसका पीडाहरुलाई आत्मसात गर्न सकेन भने के नर्कमा परिन्छ भन्ने त्रासले मात्र कुनै धर्ममा टाँसिएर बस्ला र ? अतः हामीले बेलैमा हाम्रो परम्परा र संस्कृतिमा देखिएका शोचहरुमा अदलबदल गर्नै पर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...