सर्वाेच्चकै आदेशले फेरि रोकिने भयो सुमार्गीको बैंक खाता

Ajay raj sumargi

काठमाडौं । अजयराज सुमार्गी सञ्चालक रहेको मुक्तिश्री सिमेन्ट उद्योग प्रालिका नाममा रहेको बैंक खाता रोक्का गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले झन्डै दुई साताअघि मात्रै सुमार्गीको बैंक खाता रोक्का नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सुमार्गीको खाता रोक्का गर्न आदेश दिएको हो । मंगलबारको अल्पकालीन अन्तरिम आदेश खारेज भएपछि सुमार्गीको खाता रोक्ने राष्ट्र बैंकको निर्णयले निरन्तरता पाएको छ ।

पुस १२ मा न्यायाधीश जोशीको एकल इजलासले सुमार्गीको खाता रोक्का नगर्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। मंगलबारको संयुक्त इजलासले ‘अन्तरिम आदेश जारी नहुने’ निर्णय गरेको छ । न्यायाधीश जोशीले उद्योगले मागेका बेला भुक्तानी दिन राष्ट्र बैंकका नाममा आदेश दिएका थिए ।

तर, मंगलबारको इजलासले जोशीले दिएको आदेश गलत भएको ठहर गरेको छ । सर्वोच्च अदालतले पुस १२ को आदेशमा ‘रोक्का गरिएको खाता पुस २४ सम्मका लागि सञ्चालन गर्न छुट’ दिएको थियो । सर्वोच्चले मंगलबार राष्ट्र बैंक र मुक्तिश्री सिमेन्टलाई छलफलका लागि बोलाएको थियो ।

सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न ४ करोड ५० लाख अमेरिकी डलर (करिब ५ अर्ब रुपैयाँ) उद्योगको खातामा जम्मा पारेका थिए । त्यो रकम भुक्तानीमा राष्ट्र बैंकले रोक लगाएको थियो ।

रकम रोकेकाले उद्योग नै धराशयी हुन लागेको दाबीसहित मुक्तिश्री सिमेन्ट इन्डिस्ट्रिज प्रालिका तर्फबाट लोकबहादुर अधिकारीले पुस ३ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । जोशीको अल्पकालीन अन्तरिम आदेशमा टेकेर सुमार्गीले इन्भेस्टमेन्ट बैंकमा रहेको साढे २ अर्ब रकम यसअघि नै झिकिसकेका छन् । जोशीको आदेशपछि सुमार्गी रोक्का रकम भुक्तानी माग गर्दै इन्भेस्टमेन्ट बैंक पुगेका थिए ।

प्रतिकृया दिनुहोस