मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिनँ होला र ?

Rabi lamichane

नचाहदाँ नचाहदैँ पनि आफ्नो ब्यक्तिगत कुरा गर्नु पर्यो । मलाई पाईलै पिच्छे लडाउन, देशबाटै निकाला गर्ने लगायतका प्रयास बिफल भएपछि अब मेरो निजि जिवनमा प्रवेश गर्ने प्रयास हुँदै रहेछ । लामो समयसम्म बैचारिक लडाइँ लड्दै अलग अलग बसेको र पछि कानुनी रुपमा नै अलग भएको मेरो बैवाहिक सम्बन्धलाई लिएर ठूलै खोजी चालिरहेको थाहा पाएपछि बाध्य भएर आफ्नो नितान्त नीजि जीवनबारे लेख्न बाध्य भएको छु ।

मेरी पुर्व पत्नीलाई प्रयोग गरी मेरो वास्तविक रुप अर्कै हो भन्ने प्रमाणित गर्न दिन रात लाग्नु हुने साथीहरुलाई मैले पहिला पनि भनेकै थिएँ कि टाईम खर्च गर्नै पर्दैन, सिँधै मलाई सोध्नुहोस, मै बताईदिन्छु सबै कुरा । मलाई खोक्रो आदर्श र झुठो जिन्दगी बाच्नु छैन र म त्यति आदर्शवान मानिस पनि होइन ।

मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा बिवाह गरेको थिए र हालसालै मेरो सम्बन्ध बिच्छेद पनि भैसकेको छ । तर बर्षौसम्म मतभेद, अलग बसाइ र बोलचालसमेत नभएपछि राजी खुशीले आफ्ना सबै अधिकार लिएर मसङ सम्बन्ध बिच्छेद गरेकी पुर्व पत्निले आफू मबाट अन्यायमा परेको र मेरो कर्तुत सर्वजनिक गर्नुपर्यो भनेर केही पत्रकारलाई सम्झिछ्न । लगभग २४ वर्षअघि भएको बिवाहमा आएका अनेकौं घुम्तीलाई बजारमा लिलाम गर्ने उनको मनशाय आफ्नै मगजको उपज हो वा कसैबाट प्रयोजित हो त्यो म जन्दिनँ । तर कसै कसैले ‘रबिको कर्तुत’ वा ‘रबिको असली रुप’ जस्ता शीर्षक ‘रेडि टु पब्लिस’ अवस्थामा राखेको थाहा पाएकोले उहाँहरु सबैको काम सजिलो पार्दै म आफैँ आफ्ना कर्तुतहरु कबुल गर्दैछु ।

अमेरिका मै छँदा म परिवार भन्दा अलग बस्ने गर्थे । सम्बन्ध सुधार गर्ने मेरो बारम्बारको प्रयास असफल भएपछि म एक बिदेशी प्रेमिकासँग पनि बसेको थिए । ६÷७ वर्ष पुरानो यो घटनाको कारण उजागर गरेर म मेरा सन्तानको प्रतिष्ठामा ठेस पुर्याउन चाहन्नँ । मलाई त ब्यक्तिगत बिषयमा एक शब्द पनि बोल्न मन थिएन । र सम्भावत यो मेरो जिवनको पहिलो र अन्तिम स्तरहीन टिप्पणी वा स्टाटस हुनेछ । हेडलाईन नै हेरेर धारणा बनाउनेहरुले मलाई एक मिनेटमा नै ठुलै अपराधी बनाउने छन् ।

मान्छे दुनियाँसँग लड्न सक्छ । तर, आफन्तसँग सक्दैन । अमेरिका मै रहदाँ अलग बसेका हामी बिगत १० वर्षदेखि नै अलग छौं । कारण र घटना एउटा होइन, अनेक छन् । जति छन्, ती अत्यन्तै लाज मर्दा छन् । ती बिदेशी मुलकी पूर्व प्रेमिका र मेरो बीचमा एक सन्तान पनि छ । यत्ति त कुरा थाहा पाएर बाहिर ल्याउन न्वारनदेखिको बल लाउनै पर्दैन । तर उनको र मेरो बाटो अलग भएको धेरै वर्ष भैसक्यो।हाम्रो सम्बब्ध लामो समय टिकेन । सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हँुदैन रहेछ । दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिनँ होला र ? तर उनले हेर्दा मैले र मैले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौ, जुन गल्तीले सारा घटनाहरु घटे र हाम्रो बिवाह भएको वर्षहरु त बढे ।

तर सम्बन्ध कहिले पनि अघि बढेन । ज्यादै अप्रिय बिगतलाई टुंगोमा पुर्याउने अन्तिम उपाय कानुनी उपचार नै हो र हामीले वर्षौको अशान्ति र असन्तोषलाई सहमति मै टुंगोमा पुर्यायौ । परिवारका सदस्यको उपस्थितिमा, कानुन ब्यवसायीहरुको मद्दतमा, उनले भनेका हरेक शर्तहरुको पुरै पालना गरेर । ईजलासमा प्रस्तुत सम्बन्ध बिच्छेदको मिलापत्र हेर्दै न्यायाधीश श्रीमानले सोध्नुभयो, सबै कुरा आफ्नी श्रीमतीलाई दिनु भएछ, सन्तानको जिम्मा पनि आफैँले लिनु भएछ, अमेरिकामा उहाँहरु बस्ने घर र उहाँहरुको खर्च पनि तपाईं कै जिम्मामा लगाईएछ । अब तपाईसँग के बाँकी छ त ?

मैले जवाफ दिएको थिए, श्रीमान म जिउँदै छु । कुनै पत्रकारलाई म्यासेजमार्फत मेरी पुर्व पत्निले मलाई परिवारलाई रुवाएर भागेर नेपाल गएको भनेर लेखिएको र मेरो वास्तविक रुप देखीए जस्तो नभएको भनी लेखेर पठाएको थाहा पाएँ । बिहानैदेखि केही पत्रकारहरुको फोन आउन शुरु भएको छ ।

उनको म्यासेज कुनै पनि समयमा सार्वजनिक हुने क्रममा छ । जीवनमा भएका घटनाहरु मात्र बताएर अतितका कथा कहाँ पूरा हुन्छन् र ? अनेकौ घटनाबीच २४ वर्ष बितेका हुन् । जसलाई खोतल्दा सन्तानको मानसिकतामा असर गर्दछ । पछिल्ला वर्षहरुमा पुर्व पत्नीसँग बोलचालसमेत नभएको अवस्थामा मैले एक्लै बस्ने वा उठेर फेरि हिड्ने भन्ने निर्णय गर्नु नै थियो । बाहिरको वाहवाही तर घर भित्रको एक्लोपनले म कयौ पटक बिरामी परे र झण्डै डिप्रेशनको शिकार नै भएको थिएँ । माया र बिश्वास बर्षौसम्म मरेको सम्बन्धलाई सहमतिमा र अदालतबाटै टुंगो लगाएर गएपछि उनलाई मैले छल गरेको कसरी लागेछ ? मैले बुझ्न सकिरहेको छैन ।

अब मसँग बाँकी रहेको थोरै नाम र इज्जत छ । त्यसमा पनि आँखा लागेछ । त्यसैले आज त्यो पनि दिन चाहन्छु मेरो ‘नकाब’ उतार्न र आफ्ना कर्तुतहरु सर्वजनिक गरी मलाई सिध्याउन लागि पर्ने मित्रहरूलाई र पुर्व पत्नीलाई म आफैँ खुलेर सहयोग गर्न चाहन्छु । मन परेको हेडलाईन हालेर स्वाद अनुसारको मसला मोलेर पस्कनु होला । यति मै मेरा कर्तुतहरु सकिँदैनन । बाँकी सुन्न रिपोर्टर खटाउनै पर्दैन, मै खुलासा गरिदिउला । दुर्गममा परिवारको बिचल्ली पारेर मानिस युरोप अमेरिका भागेका छन्, मैले आफ्नी पुर्व पत्नीसहित, आफ्ना सन्तानलाई अमेरिका जस्तो देशमा (उनीहरु नेपाल आउन नमानेपछि) आफू नेपाल बसेर, सम्पुर्ण आफ्नो जायजेथा सुम्पेर, अझैं अमेरिका बस्दाको पुरै व्यवस्थापन यतिबेलासम्म पनि गर्दै आएको छु ।

अदालतमा न्यायाधीशका सामुन्ने राजी खुशीले, मसँग भएको र शायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रोहबरमा सम्बन्ध बिच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो मैले बुझिनँ । अब म वर्षौको एक्लो जीवन र असफल सम्बन्धहरुबाट पाठ सिक्दै अघि बड्न चाहन्छु । कसैमाथी अन्याय नगरी म आफू माथी पनि न्याय गर्न चाहन्छु । म भागेको छैन । प्रत्येक मंगलबार बिहिवार र शनिबार राति ८ः४५ मा न्युज २४ टेलिभिजनमा प्रत्यक्ष आउछु । भोलि राति पनि आउँदैछु । सदाझै उहीँ जोश, उहीँ उमंगका साथ । श्रीमान, म जिउँदै छु ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...