यस्ता छन् कञ्चनपुर घटनामा बिष्लेषण हुन नसकेका केही आयाम

Dilliraj bist

कञ्चनपुर घटनापछि अनेक प्रश्नहरु उठिरहेका छन् । कतिपय प्रश्न जायज पनि छन् र कतिपय हल्लामा आधारित रहेर उठेका पनि छन् । सबै प्रश्नका उत्तर हुन्छन् भन्ने पनि छैन । तर, अहिले उत्तर नै नआउने प्रश्नहरु उठिरहेका छन् । जसले घटनालाई अन्यत्र मोड्न प्रेरित गर्छ ।

आफ्नो कार्य क्षेत्रमा कर्तब्य पालनको सिलसिलामा खटिएका प्रहरी कर्मचारीहरुको मात्र कमि कमजोरीको छानबिन हुने अन्य पक्षहरुले जे गर्दा नि हुने अवस्था सृजना भइरहदा प्रहरी कर्मचारीहरुको मनोबल दिनानुदिन घट्दै गइरहेको अवस्थाले अन्ततोगत्वा अपराधिक मनोवृतिलाई सहयोग पुग्छ । समग्र शान्ति सुरक्षामा प्रतिकुल असर पुग्छ । त्यसैले उक्त घटनामा निम्न बुँदाहरुलाई मनन गर्न र बिष्लेषण गर्न उपयुक्त हुनेछ ।

अपराध अनुसन्धान दबाबमा होइन स्वच्छ वाताबरणमा काम गर्न दिनुपर्छ भन्ने कुरामा हामी कति सचेत छौं र भयौं ? आफ्नो स्वार्थ अनुकुल प्रहरीले काम गर्न नमान्दा प्रतिशोध साध्ने अनुकुल समयको खोजी कति गर्छौं ?

प्रहरीका मसिना कमजोरी खोज्ने पक्षले अन्य समुहका कहाली लाग्दा भ्रमपूर्ण ब्यबहार र गतिविधिको छानबिन किन गरिएन ? हलो अड्काएर गोरु चुट्ने काम गरि प्रहरी विरुद्व भ्रम सिर्जना गरी अनुसन्धानलाई गलत बाटो तिर डो-याउने काम भएको थियो कि थिएन ?

विरोधीलाई तह लगाउन अनुसन्धानको सिलसिलामा कुटनै पर्ने र आफ्नो नजिकको मान्छेलाई सामान्य शोधपुछ गर्दा पनि यातना हुने, कति स्वच्छ र न्यायोचित हो हाम्रो मानसिकता ?

प्रहरीविरुद्व सुनियोजित र शृंखलाबद्व रुपमा केहि व्यक्तिहरुबाट एकोहोरो भ्रम सिर्जना गरिरहदा प्रहरीको माथिल्लो निकायहरुबाट समयमै त्यसको खण्डन र प्रतिरक्षा गरिएन । अनुगमन, सुपरिबेक्षण गरियो कि गरिएन ? प्रहरी निमयावाली २०७१ को परिच्छेद ९ को नियम १०२ अनुसार ‘कुनै प्रहरी कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै व्यक्तिद्वारा निजको कर्तब्य पालनको सम्बन्धमा लेखाईएका झुट्टा आरोपहरुको निमित्त प्रेस अथवा अदालतको सहारा लिनु हुँदैन’ भनिएको छ ।

यस व्यवस्थाले खण्डन गर्न प्रतिबन्ध लगाएको तर केहि व्यक्तिहरुले सुनियोजित र शृंखलाबद्व रुपमा एकोहोरो भ्रम तथा अफवाह फैलाई रहदा नेपाल प्रहरीको केन्द्रीय स्तरबाट समयमै उक्त भ्रम र अफवाह हटाउनको लागि वास्तविकता र यथार्थ संदेश समेतको खण्डन गएिन । यो घटनाबारे जनमानसमा बुझाउन नसक्नु पनि कन्चनपुर घटनाले आजको यो रुप लिएको हो ।

अर्कोतिर अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गर्नेहरुको बर्चस्वका कारण कठिन परिस्थितिलाई झनै मलजल भइरहेको तितो यथार्थ सबैका सामु प्रस्ट भएको छ । जहाँ सदाबहार झूठको बहुमतमा सबैलाई न्यानोपन पाईन्छ भने हाम्रो समाजमा बुद्धिजिबी र बिज्ञहरुको बिस्लेषण कति तटस्थ हुन्छ ? कञ्चनपुर घटनाले प्रस्ट परेको छ ।

झूठ र सनसनीपूर्ण समाचारहरु यूट्यूब लगायतका सामाजिक सञ्जालहरुमा प्रकाशन र प्रशारण गरी गैर कानुनी आम्दानीको होडबाजीलाई गम्भीरतापूर्वक अध्ययन गरिएको छैन । कञ्चनपुर घटनामा यसको कति प्रभाब थियो भन्ने लेखाजोखा छैन ।

हाम्रो अनुसन्धान पद्धति कति परम्परागत छ ? हामीसँग कति दक्ष जनशक्ति छ ? अनुसन्धानका कस्ता अत्याधुनिक उपकरणहरु छन् ? जहाँ हामी अत्याधुनिक र त्रुटीरहित अनुसन्धानको अपेक्षा गर्छौ ?

घटनाको भबिष्यबाणी, टिप्पणी, कथा, उपन्यास, निबन्ध, नाटक, मुक्तक, गीत, ज्योतिषी र राशिफल प्रकाशन र प्रशारण गरि आतंक सिर्जना गर्नेहरुको खोजी गरि कानुनको दायरामा ल्याएको खोइ त ? कानूनको दोहोरो मापदण्ड भएन र ?

केहि ब्यक्तिहरुको स्वार्थपूर्ण र अनुचित दबाबमा अनुसन्धान अल्मलिएको छ । आफैँ अनुसन्धानकर्ता, अभियोजनकर्ता, बहसकर्ता, र फैसलाकर्ताहरुको भ्रमको खेतीमा शंकाले लंका जलाई रहेको छ । तर ‘रे’ ले ‘के’ को जबाफ पाएको छैन । ‘रे’ भन्नेहरुलाई ‘के’ भनेर जबाफ मागी भ्रम र अफवाह फैलाएकोमा कानुनी दायरामा ल्याउनु जरुरी छ । निर्मलाको हत्या हुनु अगाडी कन्चनपुरमा आन्दोलनहरुको अवस्था कस्तो थियो र आन्दोलनहरुको भित्रि र बाहिरी उद्देश्य के के थिए ?

घटनास्थलमा पुगेका प्रहरी, मृतकका आफन्त, स्थानीय तथा पत्रकारहरुको उपस्थितिमा प्रारम्भिक अनुसन्धान हुँदा प्रमाण नष्टको कुरा कसैले उठाएको थियो थिएन ? घटनास्थलमा के के प्रमाणहरु भेटिएका थिए र नस्ट भए ? बिश्लेषक विद्वानहरुले बुँदागत खुलाई दिनुपर्ने हो । तर, त्यो नभनी खाली यो भएन र त्यो भएन मात्र भनिएको छ । म उहाँहरुसँग सार्वजनिक रुपमा यो विषयमा बहस गर्न तयार छु ।

निर्मला पन्तको लास उठाएर सवारी साधनमा राख्दा सर्पले टोक्यो, मेयर घटनास्थलमा आउनुपर्छ भन्ने माग कसले किन उठायो ? आन्दोलन किन र कसरी सुरु भयो ? आन्दोलन सुनियोजित थियो वा आकस्मिक ? अनुसन्धानमा अबरोध गरेर तत्काल अपराधी सार्वजनिक गर्न प्रहरीलाई चर्को दबाब कोबाट दिइयो ?

प्रहरीविरुद्व केहि व्यक्तिहरुले भ्रम छरि रहँदा प्रहरीको अनुगमन र सुपरिबेक्षण गर्ने निकायहरुले कस्तो भूमिका निर्वाह गरे ? भ्रम र अफवाहपूर्ण समाचारहरुको प्रहरी प्रधान कार्यालयले बिज्ञप्ति प्रकाशित गरी कति पटक खण्डन गरेर प्रस्ट पर्ने काम गरेको थियो ? अनुसन्धानलाई सघाउन स्थानीय राजनीतिक दलहरुको भूमिका कस्तो रह्यो ?

नागरिक समाज र अधिकारकर्मीहरुको आचरण र भूमिका कस्तो रह्यो ? समाचार संकलनको सिलशीलामा कञ्चनपुर पुगेका पत्रकार, बिश्लेषक, टिप्पणीकार, स्तम्भकारहरुका टिप्पणी कस्ता कस्ता थिए ? कति गहिरो अध्ययन र बिष्लेषणमा आधारित थिए ?

उच्चस्तरीय छानबिन समितिका कुनै सदस्यको भूमिका कस्तो रह्यो ? उहाँको भूमिकाले आन्दोलनमा सकरात्मक नकारात्मक कस्तो असर पा¥यो ? उहाँको असुरक्षाको छानबिन भयो कि भएन ? अनुसन्धान समुहमा कार्यरत प्रहरी कर्मचारीहरू कति दक्ष थिए ? अनुसन्धानका आधुनिक प्रबिधि र उपकरणहरु थिए कि थिएनन् ?

कसैको स्वार्थपूर्ण आग्रह पूर्वाग्रह र प्रतिशोधपूर्ण अभिव्यक्तिको आधारमा प्रहरी कर्मचारीहरुलाई हतारमा कारवाही गर्नु उपयुक्त थियो थिएन ? पछिल्लो पटक गरिएका अनुसन्धानहरु विवाद रहित भए कि भएनन् ? भएनन् भने किन भएनन् ? त्यसमा उचाल्ने र भ्रम छर्ने काम भयो कि भएन ?

त्यसो भए कर्तब्य पालनमा खटिएका प्रहरी कर्मचारीहरुलाई कारवाही किन गरियो ? यी कुराहरुको खोजी हुन जरुरी छ । हल्लाको पछि लागेर मात्र समस्याको समाधान हुन सक्दैन । त्यसका लागि गहिराईसम्म पुग्नुपर्छ । भीडको पछि लागेर मात्रै अपराधी पत्ता लगाउन सकिन्न । यो सत्य कुरा हो । कतिपय अपराध यस्ता हुन्छन्, जो भन्ने वित्तिकै पत्ता लगाउन गाह्रो हुन्छ ।

अपराध अपराध नै । अपराधी जतिसुकै चलाख भए पनि एक दिन अपराध बाहिर आएकै हुनछ । त्यो विगतले पनि देखाएको छ । फेरि नेपाल प्रहरलिे अहिलेसम्म गरेको अध्ययनले पनि नेपालमा भएका जस्तासुकै अपराधका घटना पनि पत्ता लगाएकै छ । त्यसकारण निर्मला पन्तको घटनामा पनि ढिलो चाडो अपराधी पत्ता लाग्छ । त्यसकारण अहिले जसरी आन्दोलन भइरहेका छन्, ती आन्दोलनकारीहरुले सो घटनाका सुचना दिएर सहयोग गर्न सक्नुपर्छ ।

प्रतिकृया दिनुहोस