कसले सुन्ने यी टुहुराको दर्दनाक वेदना ? जसले बुबाको काजकिरिया गर्न खर्च पाएनन्

Bikram manisha saru

प्यूठान । प्यूठान नगरपालिका –१० दिविचौरका लेखराज सारुले घर बनाउन जस्ता लगाउन ठिक्क पारेका थिए । पुरानो घरलाई मर्मत गरेर टल्किने जस्ता पाताले छाउने रहर लेखराजलाई धेरै पहिलेदेखि नै थियो ।

तर, उनको आर्थिक अवस्था एकदमै कमजोर । त्यसमा पनि रहर पूरा नहुँदै उनी विरामीले थला परे । ४ जनाको परिवार पाल्ने, परिवारको रेखदेख गर्ने जिम्वेवारी उनैको काँधमा थियो ।

उनी किड्नीका विरामी थिए । उनी मात्रै हैन, उनकी श्रीमति देवा (वर्ष ३०) जण्डिसकी विरामी । उमेरले दुबै जना अधवैशे । दुबै जना एक छोरा र एक छोरी अभिभावक थिए ।

तर दुर्भाग्य, न त लेखराजले आफ्नो घरमा टलिकने टीनको छाना नै लगाउन पाए, न त छोराछोरीको सपना नै पूरा गर्न पाए । दैवका लिला दुबै जनाको ५ महिनाको अन्तरमा निधन भयो ।

आफुलाई पालनपोषण गर्ने बुबा आमाकै मृत्यु भएपछि ५ वर्षीय बिक्रम सारु र ६ वर्षीय मनिषा बेसहारा बनेका छन् । विरामी आमावुवाको मृत्यू भएपछि उनीहरुको दुःखका दिन सुरु भएका छन् ।

कलिलै उमेरमा आमावुवाको माया पाउन नसकेका उनीहरुको अवस्था दयनीय भएको स्थानीय मोहन सारु बताउँछन् । ‘आमावुवाको मृत्युपछि घरमा विजोग भएको छ’ सारुले भने, ‘बिचरा केटाकेटीलाई खान दिने पनि कोही छैनन् ।’

किरिया गर्नै समस्या
बिक्रम र मनिषा अहिले हजुरआमासँग बसिरहेका छन् । आफैँ काम गरेर खान नसक्ने सारु दिदिभाईको अवस्था अहिले दिनप्रतिदिन बिग्रदै गएको छ । पुस ८ मा बुबाको मृत्यु भएपछि उनीहरु अहिले बाबुको किरिया गर्न सक्ने अवस्थामा पनि छैनन् ।

‘उपचार गराउन लिएको ऋण तिर्नै छ । साहुले कहिले आएर बारीमा हकदावी गर्ने हो’ काका बलबहादुर सारुले भने, ‘किरिया खर्च पनि जोहो गर्न कठिन छ ।’ सारुको किरिया खर्च व्यवस्थापन गर्न भन्दै स्थानीयले शनिबार गाउँमा भेला बसेर गाउँबाट सहयोग उठाउने निर्णय पनि गरेका छन् ।

कलिला बालबालिकाका लालनपालन शिक्षाका लागि आर्थिक सहयोग उठाउन सकिन्छ कि भनेर स्थानीय पनि लागेका छन् । उमेर ढल्दै गरेकी ५९ वर्षीय हजुरआमा ज्ञानी सारुलाई पनि दुई नाती नातीनाको चिन्ताले सताउन थालेको छ ।

‘छोरा बुहारी दुबै मरे, के गर्नु कालले दुबैलाई लग्यो’ उनले भनिन्, ‘अब यी नाती नातीनाको के हुनी होला । यिनीहरुको ख्याल अब कसले गर्ला ? चिन्ता लाग्छ ।’
‘घरमा पनि टिन (जस्ता) लगाउने भनेर वुवाले घर बनाउन थाल्नुभएको थियो’ ६ वर्षीय छोरी मनिषाले भनिन्, ‘बुबा हुनुहुन्न घरमा पनि समस्या छ ।’

अभिभावकको साथ नपाएका दुई दिदिभाईको भविश्यमा प्रश्न चिन्ह खडा भएको स्थानीय समाजसेवी माधव पराजुली बताउँछन् । पराजुलीकै पहलमा अहिले चन्दा उठाएर किरिया खर्चको जोहो हुन थालेको छ ।

शिक्षक बन्ने सपना
बिक्रम र मनिषा स्थानीय जनकल्याण प्रावि नेपानेमा अहिले कक्षा १ मा पढ्दैछन् । उनी धेरै पढेर शिक्षक बन्न चाहन्छन् । तर, बाल्यकालमै बुबाआमा बितेपछि उनले पढ्न पाउँछन् कि पाउँदैनन्, यसै भन्न सकिन्न । किनकी पढाईमा कसले सहयोग गर्ने ? हेरचाह नै कसले गर्ने ? यी समस्यामा उनीहरु परेका छन् ।

गाउँका धेरैजसोले यी बालकालिकाको शिक्षामा सहयोग गरिदिए हुन्थ्यो भन्न थालेका छन् । तर, अहिलेसम्म कसैले पनि उनीहरुको शिक्षादिक्षाका लागि हात दिइसकेका छैनन् ।

सहयोगीदाता नभेटिए बिक्रमको असल शिक्षक बन्ने सपना त अधूरो नै रहने छ, त्यसको अलवा आर्थिक अभावकै कारण उनीहरु कुपोषणको समस्यासँग पौठेजोरी खेल्नुपर्ने अवस्था पनि आउन सक्छ ।

सारुको घरमा वडाध्यक्ष
उनीहरुको अवस्था यस्तो दयनीय छ कि शब्दमा भनेर साध्य छैन । त्यही भएर उनीहरुको दर्दनाक अवस्था सुनेर प्युठान नगरपालिका वडा नं. १० का वडा अध्यक्ष पदम गिरी शनिबार घरमै पुगेका थिए ।

टुहुरा बालबालिकाको घर पुगेर गिरीले घर छाउन ३० हजार रुपैयाँ बराबरको जस्तापाता दिने घोषणासमेत गरे । गिरीले निशान न्युजसँग भने ‘काजकिरिया सकिएपछि उनीहरुको पढाईलेखाईका लागि म नगरपालिकाको बैठकमा कुरा राख्छु ।’ उनीहरुले १३ दिनमा काजकिरिया सक्नेछन् ।

प्रतिकृया दिनुहोस