विवाह पञ्चमी महोत्सव सुरु, बेहुलीझै सिंगारियो जानकी मन्दिर

Bibaha mahotsab

जनकपुर । विवाह पञ्चमी महोत्सवमा प्राचीन मिथिला र हाल प्रदेश २ को राजधानी जनकपुर बेहुलीझै सिंगारिएको छ । महोत्सवका लागि जानकी मन्दिर झकिझकाउ बनाइएको छ ।

विवाह पञ्चमी महोत्सवलाई भव्य बनाउनका लागि प्रदेश सरकारले जानकी मन्दिर सौन्दर्यीकरण, रंगभूमि मैदान १२ विगाहको सरसफाइ, अस्थायी बास, अस्थायी शौचालयको व्यवस्था गरेको छ ।

विवाह महोत्सव अपरान्हको समयमा गरिन्छ । तर, बिहानैदेखि रामजानकी मन्दिरसहित मिथिला क्षेत्रका अन्य मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्ने गर्छ । उत्सवमा बाजागाजा, झाँकी, भजनकीर्तन र नाचगान गरिन्छ भने जन्ती र डोला हेर्ने भक्तजनको घुईंचो लाग्ने गर्छ ।

पोखरी, तलाउ तथा सुन्दर मैथिल संस्कारको धनी नगर जनकपुर आज अलौकिक सुन्दरताले भरिपूर्ण देखिएको छ । जानकी मन्दिरमा दुई दिन अगाडिदेखि नै सहनाई बादकहरुको एक समूहले बिहान र बेलुकी मंगलधुन बजाइरहेका छन् ।

महोत्सव आजदेखि विधिवत सुरुवात भएको छ । महोत्सवको पहिलो दिन शुक्रबार जनकपुर नगर दर्शन गर्ने कार्यक्रम छ । दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर र छैठौं दिन अर्थात् मंसिर २६ गते बिहीबार राम–सीता स्वयंवर तथा विवाह हुनेछ ।

विवाह पञ्चमीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ समेत जन्ती बनेर मंसीर २६ गते जनकपुर आउने तयारीमा छन् । विवाह महोत्सवका लागि मूल आयोजक जानकी मन्दिरले नेपाल र भारतका ख्यातिप्राप्त कलाकारलाई सांस्कृतिक कार्यक्रमको लागि निम्त्याएको छ ।

यसवर्ष भारतबाट मैथिली भोजपुरीका प्रसिद्ध गायिका शारदा सिन्हा पनि आउँदैछिन् । कम उमेरमै गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल मैथिली ठाकुर पनि अउाँदै छन् । मैथिला क्षेत्रमा ख्यातिप्राप्त शास्त्रीय गायक कुञ्जबिहारी मिश्र पनि आउने छन् ।

विवाहपञ्चमीमा २ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । विवाहपञ्चमी महोत्सवमा आयोधाबाट हात्ति, घोडा र उँट चढेर जन्ती जनकपुर आउने दासले जानकारी दिए । यस वर्ष विवाहपञ्चमी महोत्सवमा ५ सय विशिष्ट र ५ हजार जन्ती सहभागी हुने जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले बताए ।

यसरी मनाइन्छ विवाह उत्सव
त्रेता युगमा मंसिर शुक्ल पञ्चमीको दिन आर्दश जोडी राम सीताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दु संस्कृतिअनुसार भएको मानिन्छ। त्रेता युगमा अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको सम्झनामा प्रत्येक वर्ष जनकपुरमा रामजानकी विवाह महोत्सवको आयोजना गरिन्छ ।

सप्ताहव्यापी रुपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधिअनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आएको छ ।

जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् । सीता नेपाल भूमिकी पुत्री पनि हुन् ।

राम र सीताको स्वयंवर सकिएपछि दुलाहा र दुलहीलाई बोकी ल्याइएका रथहरुलाई बाजागाजा सहितको र्‍यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।

यही प्राचिन पौराणिक महाविवाहको सम्झनास्वरूप आज पनि जनकपुरमा भारतबाट जन्त लिएर आउने र राम–सीताको प्रतिममा प्राणप्रतिष्ठान गरेर विवाह गरी सीता बिदा गर्ने चलन छ।

 

प्रतिकृया दिनुहोस